हरि आत्रेय
(मथिनपा ७, सानोठिमी, भक्तपुर)
जतिबेला म बुझ्ने थिएँ
कति खुसी थिए मेरा बाआमा
शरद्को आकाशजस्तै खुलेका
गगनका ताराजस्तै बलेका
सगोलको सुन्दर परिवार हुन्थ्यो
र त, हर्षउल्लासले उचाइ छुन्थ्यो ।
गोठभरि चौपाया हुन्थे
गौवाभरि दुध
अनि हाप्टिनभरि घिउ हुन्थ्यो
पत्थरसँग सिँगौरी खेल्ने
बलिष्ठ जिउ हुन्थ्यो
बारीभरि लहलाउँदो अन्न हुन्थ्यो
वर्षभरिलाई जोहो गरिएको
भकारीभरि टन्न हुन्थ्यो
जीवन पनि सुखमय हुन्थ्यो ।
समय फेरियो, परिवेश फेरियो
आफ्नै पाखुरीमा जिउने रहर फेरियो
अहिले प्रविधिले यस्तो बनायो
विशाल धरतीलाई पनि
हत्केलामा अट्ने बनायो ।
सन्तान आफ्नै हुन्
भेट कहिल्यै हुँदैनन्
छोराछोरी राजधानी सहरमा
नातिनातिनी विदेशको रहरमा
फोनमा मात्र सन्चो बिसन्चोको कुरा हुन्छ
र त, विगत सम्झेर मन भक्कानिएर रून्छ ।
रमणीय गाउँघर खण्डहर भएको छ
उर्वर भूमि बाँझो पल्टदै गएको छ
हारगुहारमा कोही जुट्दैन
सहरबाट मान्छे नआए लास उठ्दैन ।
ऊ बेलाको तीनतले, साहुबा म
अहिले घरका चोटाकोठा रित्ता छन्
दिनचर्याको सारथी भित्ता मात्र छन्
पानी दिने पाँचौँ हात छैन
श्रीमती लौ न बुढा भन्छिन्
काल कहिले आउँछ भनेर उमेर गन्छिन् ।
आशीर्वादको प्रतिफल
सन्तानले महादेश ढाके
उन्नतिप्रगतिमा अझै चुलीमाथि हुनू
जहाँ जहाँ रहे पनि
खुसी र सुखी भएर जिउनू
हो, माया त नदीजस्तै रहेछ
मलाई डाँडामाथिको घाम सम्झनू
र वैकुण्ठ यात्रामा कात्रो पहिरिँदा
सहारा जाने सारथी चाहिँ भइदिनू ।