• टेकेन्द्र चेम्जोङ

तिमी
तिमी कुरिरहेकी हौली
देउरालीको ढुङ्गा भएर
बगिरहेकी हौली आँखाबाट
तमोर र काबेलीहरू ।

तिमी
बसिरहेकी हौली
पाखाहरूमा पैयुँ फुलाएर,
आँगनभरि आरुका फूल सजाएर
पर्खिरहेकी हौली हरेक याममा ।
घामजून टिपेर
पठाइरहेकी हौली
सम्झनाका कोसेलीहरू ।


सुदूर क्षितिजमा हरेक दिन
यही घामजून पर्खिरहेको हुन्छु
हरेक साँझ ताराहरू हेरेर
पढ्ने गर्छु तिमीले पठाएका सन्देश
कोरिरहेको हुन्छु बादलहरूमा
तिम्रो कञ्चन तस्बिर ।


टिपिरहेको हुन्छु हरेक दिन
अमलरी फूल
बुन्दै छु सपनाका
सुन्दर मालाहरू
सजाउन हाम्रो संसार ।

एक दिन
बोकेर आउने छु
अमलरी फूल
अँगालोभरिभरि ।
सिंगार्ने छु तिमीलाई
सजाउने छु हाम्रो घरआँगन ।
तिमी त्यही देउरालीमा
कुरेर बसिरहनू
कहिले नओइलिने सेक्मुरी भएर ।

शब्दार्थ
अमलरी फुङ (सुनखरी फूल): प्रेमको प्रतीक फूल
सेक्मुरी: जीवनको प्रतीक फूल
(पन्यूँ र आरु दुबै मुन्धुमी फूल हुन् । आरु फूले पछि उभौली र पन्यूँ फूले पछि उधौली शुरु हुन्छ । )

Facebook Comments Box

Similar Posts