– टेकेन्द्रराज चेम्जोङ
फक्ताङलुङको दाँया काँध नाघेर
एक हुल पन्छी उधोँ हानिए
अनि पसे
आदिम बस्तीहरुमा ।
कराउन थाले कर्याङकुरुङ !
अध्यारो कुनामा बोजु तान बिसाउदै बोलिन-
“कारा:ङ्वा !”
छेउमा बसिरहेको केटाकेटीहरुलाई सम्झाउदै भनिन्न-
“सिन्युक मुदेनबाट आएको ।
गाँउमा सह आउछ । सुदिन आउछ ।”
केटाकेटीहरु खुशी हुदै आँगनमा निस्किए
चिच्याउन थाले
“कारा:ङ्वा कारा:ङ्वा !”
बस्तीका अरु केटाकेटी पनि मिसिए
अनि रमाउन थाले ।
आकाशमा अरु धेरै हुल थपिए
कारा:ङ्वाहरु ।
त्यो आदिम बस्तीमा
नयाँ घाम लागे जस्तो भो
रंगीन बिहानी पोखिए जस्तो भो ।
पयुँको बोट ढकमक्क फूलेको ति कान्लाहरुमा
भटमास र कोदोले ढाकेका ति बारीहरुमा
धान लहलह झुलेका खेतहरुमा ।
साँच्चै त्यो सिंगो बस्तीमा
सह आए जस्तो भयो,
महान उत्सव, नयाँ उमंग आए जस्तै भयो ।
बस्तीमा फेदाङमाहरुले
आदिम मुन्धुम फलाक्न थाले
जोखना हेर्न थाले धानका बालाहरुमा
बुट्यानका पातहरुमा
माछाका भुराहरु
अनि चराहरुको आवाजहरुमा ।
खुट्याउन थाले वर्तमान र भविष्य
बाँधेर चार दिशा
शक्ति मागे, सह मागे
तागेरा निङ्वाफुमा माङसँग ।
बस्तीका तन्नेरीहरुले उठाए च्याब्रुङ
तन्काए तानहरु
बजाए जोर हातहरुले जोरसँग ।
हावाहरुले भरे धुनहरु
पाखा पखेराहरुले मिलाएर सुरहरु ।
अनि ति धुनहरुमा
नाँच्न थाले पातहरु
पयुँका हाँगाहरुमा,
छर्न थाले सुगन्ध ति फूलहरुले ।
बस्तीका केहि तरुनीहरु पनि निस्किए
शिरमा उज्यालो शिरफूल
गलामा सुनौलो कण्ठा लाएर आए,
मिसिएर त्यो महान उत्सवमा ।
नाँच्न थाले यालाङ ।
गाउन थाले पालम
अनि घुम्न थाले धर्तीको गतिसँगै ।
आकाशमा अर्को हुल कारा:ङवाहरु आए
उता बुढापाकाहरु घङगरुको लौरो
टेक्दै निस्किए ।
छिपिएको शरिरलाई बिसाउदै
गाउन थाले हाक्पारे
मिथक सुनाउन थाले ।
“हामी लुङ्बुङ्बासा खाम्बोङ्बासा
थाक्थुङ्सासे ।”
सुनाउन थाले इतिहास
सम्झाउन थाले पुर्खाको विरासत ।
आकाशमा अन्तिम हुल
कारा:ङवा मिसिदै थियो ।
त्यो आदिम बस्तीको रंग फेरिएको थियो
मानिसहरु महान उत्सवमा रमाइरहेको थियो ।
कारा:ङ्वाहरु उधोउधो लगिरहेका थिए
कतै महाचुम्लुङको तयारीमा जस्तो
कतै महाभोजमा जुटिरहे जस्तो
एकै दिशामा हानिरहेका थिए ।
एकै गतिमा उडिरहेका थिए ।
एकै सुर कराइरहेका थिए
करङकुरुङ करङ्कुरुङ ।
शब्दार्थ
फक्ताङलुङ: कुम्भकर्ण हिमाल
कारा:ङ्वा: कराङकुरुङ चरा(लिम्बु जातिको विश्वास परम्परा अनुसार सहकालको प्रतिक)
सिन्युक: चीन
मुदेन: तिब्बत
फेदाङमा: लिम्बु जातिको पुजारी
तागेरा निङ्वाफुमा माङ: सर्वशक्तिमान देउता
यालाङ: धाननाच
पालम: लिम्बु जातिको मौलिक गीत
लुङ्बुङ्बासा खाम्बोङबासा: ढुंगामाटोको सन्तान
याक्थुङसासे : लिम्बुजातिको मौलिक नाम
महाचुम्लुङ: बृहत भेला