डा. दामोदर पुडासैनी किशोर
(संयुक्त राज्य अमेरिका)

मृत्युले कसैलाई कुर्दैन
समयले निरन्तर रखबारी गरिरहेछ
हतार छ
तिमीलाई जस्तै मलाई पनि
समयका निधारमा बुट्टा काट्न
मृत्यु मेरो साथी हो
ऊ असाध्यै माया गर्छ मलाई
छोड्दैन जीवनभरि
म रोएको बेला ऊ टुलुटुलु हेरिरहन्छ
सुमसुम्याइरहन्छ म हाँसिरहेको बेला
मैले रेस्लिङ, सकर र ब्याडमिन्टनमा जित्दा
सबैभन्दा धेरै खुसीको ताली बजाउने ऊ नै थियो
म स्कुल र क्याम्पस जाँदा ऊ मसँगै हिँडेको थियो
धेरै वर्ष अफिस गएँ
त्यतातिर पनि ऊ सँगै थियो
ऊ बेला बेलामा बोस र उसका चम्चा बनेर गिज्याइरहन्थ्यो
अहिले घुमिरहेछु संसारका छेउकुनामा
मृत्यु मलाई जीवनको उज्यालो नछोड्न चेतावनी दिँदै छ
र, सम्हाल्दै सम्हाल्दै मारिरहेछ मिठो धाप
ऊ मेरो प्रेम हो
प्रेममै सर्वसुन्दर छ जीवन
प्रेम खरानी भएपछि
चकनाचुर सिसाका टुक्राबाहेक
बाँकी नै के रहन्छ र अरु ?

ऊ सधैँ मलाई माया गर्छ
र झुक्याउन खोज्छ
म उसलाई माया गर्छु
भाग्न खोज्छु कतै टाढा
छिनाझपटी र लुकामारीमा
झाङ्गिरहेछ हाम्रो प्रेम
कुनै बेला मेरी प्रेमिकाले जित्छिन्
म हार्छु
आफ्नै प्रेमिकाले जितेको बेला
मेरो हारको कुनै गुनासो हुने छैन
तिमी
संसारलाई आफ्नै मुठीमा अँठ्याउन खोजिरहेछौ
भागबन्डाको नाममा
उभ्याउन खोजिरहेछौ तिखा काँटी र कठोर जन्जिर
हडप्न खोजिरहेछौ अरु मान्छेका साँधसिमाना
संसारका सबै खजाना मुठी, काँध, पिठिउँ र खल्तीमा कोचेर
मलाई मृत्युको अघिल्तिर त्यति कुरुप देखिनु छैन
जन्मेदेखि नै म मृत्युलाई भेट्न चाहिरहेछु
ऊ मलाई रोक्छ, थुमथुम्याउँछ
र कानमै आएर फुसफुसाउँछ–
हतार नगर, हतारले मात्र कुनै काम बन्दैन
समय आएपछि
न तिमी तिम्रो यात्रालाई अघि बढाउन सक्छौ
न म मेरो यात्रामा रोकिन सक्छु
आखिर रित्तो छ समय
हामीलाई हतार छ
रित्तो समयमा बुट्टा भर्न
रित्तो समयमा कोरिएका बुट्टाहरु नै हुन्
कसैका लागि
जीवनभरका गाढा र अमिट सम्झना ।

Facebook Comments Box

Similar Posts