दीपेन्द्र श्रेष्ठ
(भक्तपुर)
हरि इमानदार व्यापारी । उनले व्यापारव्यवसायमा हात हालेको १७ सकेर १८ वर्ष लागेको थियो । १७ वर्षको अवधिमा उनले आफ्ना सन्तानलाई अत्यावश्यक सम्पूर्ण कुराले भरिपूर्ण गराइसकेका थिए । उनी इमानदार भए पनि अलि अल्छी र सामाजिक भाव रत्तिभर नभएका मानिस थिए । एक दिन उनी पसलमा बसिरहेका बेला एउटा ढुङ्गा बोक्ने ट्रकबाट अन्दाजी एकडेढ किलोको ढुङ्गा उनकै पसलअगाडि कालोपत्रे सडकमा खस्यो । त्यो ढुङ्गो बटुवाले त छुँदै छोएन हरिले पनि वास्तै गरेन । परबाट आइरहेको ट्रिपर रफ्तारमा थियो । हरि बाटोमा हेरेर केही सोचिरहेको थियो । रफ्तारमा गुडिरहेको ट्रिपरको पाङ्ग्राबाट ढुङ्गो उछिट्टिएर हरिको निधारमा लाग्यो । उनी ठाउँका ठाउँ ढले । रगत बग्यो । बेहोस भए । हतपत छिमेकी पसलेले देखेर हारगुहार गरे । एम्बुलेन्स बोलाए । छिन भरमै मान्छेको घुइँचो भयो । एम्बुलेन्समा राखेर उनलाई अस्पताल लगे तर गहिरो चोटका कारण डाक्टरले उनलाई बचाउन सकेन ।