विष्णु शास्त्री
(तेजपुर, भारत)
कान्छो युद्धवीरकी छोरी रमी, छोरो कामे र धर्मपत्नी आशालाई लिएर सानो संसार थियो । गानोले घाटसम्म, नियाले राजसम्म गर्छ भन्ने ध्येयले गिदाङ्गेको रोपाइमा, मादले खेतालासरिको कान्छाको सुखको संसार थियो । अचानक ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गोको सानो सुखी संसारमा एक विवशताको हुरीले कान्छालाई घेर्नाले सपनाको संसार चूर्ण–विचूर्ण भयो । आशाको मृत्युपछि आगाले काँचो भन्दैन, राजाले कङ्गाल भन्दैन हुनाले कान्छाको जिन्दगी बेहाल पार्यो । छोराछोरीले बाउको दयनीय अवस्थालाई नजर गरी वनको बाघले खाओस् कि नखाओस्, मनको बाघले खाने शङ्काले हुलचालमा जिउ जोगाउनु, अनिकालमा बिउ जोगाउन तत्पर भए । अचानाको पिर खुकुरीले जान्दैन सम्झिएर छोराछोरीले बाउ सुर्ताएर रोगाएको बुझी धर्मकर्म ढाडामा, चामल हाल्नु भाडामा भन्ठानी स्याहारचाकर गर्न लागे । हुन पनि हो ! स्वच्छ विचारको सुरूआत, गर्नुपर्दैन पश्चात्ताप । छोरा कामे र छोरी रमीले घाँटी हेरी हाड निल्नुपर्दथ्यो, लाज मानेर काज नचल्नाले जस्ता देउता उस्तै पूजा गर्नलाई डुब्नेलाई सिन्काको सहारा हुने आशाले नल गोडे फल लाग्ने आँटले ओखलमा हात हाल्नेलाई मुस्किलको के डर ? हो, हुन त ! गाई भए गोरस, भाइ भए भरोस हुन्जेल चन्द्रमा दाहिना भए, ताराको के लाग्छ । कान्छाको चार दिनको चन्द्रमा, फेरि घनघोर रात भएकाले उठेर बोलाए बतासले लाने, बसेर बोलाए कसैले नसुन्ने भयो । हुने हुनामी टारेर नटर्नाले बाउ कान्छो इन्तु न चिन्तु भई जहाँ पातलो, त्यहीँ छिड पर्यो । दैवको लाठी सबैमाथि पर्ने हुनाले पीडाले मनलाई चाहनाले धनलाई जलाउँछ भनी सान्त्वना दिन बाध्य भए ।
बाउको मृत्युपछि रमी र कामेले बाउ ओच्छ्यानमा लागेको बेला भनेका अर्ती मुटुमा साँची राखेर विधिको विडम्बना कसलाई पर्छ को जान्ने ? सम्झिएर एक हातमा आँसु, एक हातमा गाँस बोकेर मनको बह कतै नकह उचित होला भन्ठाने । दिदीभाइ दुवैले लक्कुविनाको धक्कु, मसलाविनाको पक्कु हुनुभन्दा दिन दुना रात चौगुना कष्ट गरी सम्पत्तिमा सब कोई, बिपतिमा कोही न कोही सम्झेर नाक बन्द भए मुख खुल्छ भन्ने आँट गरे । दिदीभाइको मसान रूङे मुर्दा पाइन्छ भन्ने आँटले गर्दा पटुकामा रूपियाँ, बटुकामा दुध कमाउन सक्षम भए । दिदीभाइको मेहनतले फूलको सौगन्ध वरिपरि, मानिसको सौगन्ध डाँडापारि फिजिन पुग्यो । श्राद्धको सम्धी, तिजको ज्वाइँ, यस्तो अप्ठ्यारो नपरोस् काहीँ भनी जोगिँदाजोगिँदै हिँड्दाहिँड्दै धेरै दिन बितेछ । बाँस बढे निहुरिन्छ, भक्किमलो बढे पड्किन्छ भन्ने आहान गाउँमा एक कान दुई कान मैदान भयो । युद्धवीर कान्छाका छोराछोरीले उप्रीमाथि थुप्री लाग्ने सम्पत्ति अगुल्टो नठोसी बल्दैन सम्झेर कमाएको देखी गाउँलेहरु तीनछक्क परेँ । गाउँलेले भन्न लागे बाउ गुर्कियो कि छोरो हुर्कियो । गाउँमा आँखामा हाल्दा नबिझाउने भए दिदीभाइ । गाउँलेले सम्झिन लागे बल्दो आगो सबैले तापेर, हुने बिरूवाको चिल्लो पात नहुने बिरूवाको फुस्रा पात । दैवको दृष्टिमा युद्धवीरका छोराछोरीले एक दामको ल्वाङ छैन, दश दामको स्वाङ पारेको दैवलाई सहन भएन । धन देख्ता महादेवका तीन नेत्र बल्नाले उठी सुख न बसी सुख हुन पुग्यो । एक दिन पल्लो गाउँको बिहेमा गतिलो लुगाफाटा लगाएर जान रमी एक्लै भएकाले चाकमा लाउने सुरूवाल छैन, काने टोपीको रहर भएकोमा छिमेकी रामेले स्कुटीमा पुर्याइदिएर नदुखेको टाउको दुखाउनुपर्ने भएछ । बिहेमा पुगेर आउँदा बिचमा जङ्गलको रास्ता पर्दथ्यो । प्रसव गर्ने सुरमा रामेले जता मल्को उतै ढल्को रमीलाई उतारेर नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार, सम्झिएर अकासपाताल देखाई वासना तृप्तिमा भासियो रामे । रमीले पनि गाऊँ त भेडाको राग, नगाऊँ त मनको वैराग सम्झी लोभीको भाँडो उभिन्डो पारी पोखिदिइन् । सर्वस्व लुटाइन् । ओराली लागेको मृगलाई बाघले झम्टिन थालेपछि रामेको जुरेलीको गुँड भइन् रमी । गर्भमा अर्काको नासो, गलाको पासो खेल्न लागेको थाहा भएर मनमा खुल्दुली मच्चिन थाल्यो । रमी लोकलाजको डरले चुपचाप चार आना, हल्ला गरे बाह्रै आना तिर्नुपर्ने भो । अनि रमीले मृत्युसिवाय अरु केही विकल्प उपाय देखिन । कसारको कुन गुदी कुन बोक्रो नजान्ने रमीले कि बाँधौँला हात्ती कि भागौँला राति भन्ने सुरमा कि चपरामुनिको बास कि अमरावतीको राज सम्झिएर पनि नागा नाचे त मैदान हुने डरले लोभी गुरू लालची चेला, दुवै नरकमा ठेलमठेला हुनुभन्दा सज्जनसँगको मितेरी शिलापत्र, दुर्जनसँगको मितेरी अलपत्र भएको बखत दसा बाजा बजाउँदै आउँदैन । रमीले सोची जँघार पनि तर्न खोज्नु, तिघ्रा पनि कमाउनुहुँदैन भनी विषपान गरी चार दिनको निम्ति ओच्छ्यानमा निदाएको निदाइ भई । भाइ कामेले रूवाबासी गरी कोलाहल मचायो । भाइ कामेले सोच्यो जसको सुन खोटो, उसको हिया ढुकढुक भएको बेलैमा जसको बिहे उसलाई देख्न नदिए र जसको नाटीकुटी उसैको भष्म उठी भयो । दैव दुःख नदे, आफै दुःख पा भयो । रमीलाई कुदाउँदै अस्पताल पुर्याए । डा. ले रमीलाई मृत भनी घोषणा गर्यो । कामे नुन खाएको कुखुरोजस्तो भयो । मर्दको छोरो कि गरी खान्छ कि मरी जान्छ । छिमेकी अचम्म भए । साँपले टोकेर पो मरिहोला भनी चारैतिर हल्ला मच्चियो । हल्ला सुनेर युद्धवीरको गल्ला रणवीर सर्प झार्ने वैद्य भएकाले आयो, झार्यो । रत्नको कदर, जौहरीले जान्दछ । अङ्गको भङ्ग, भङ्गको दङ्ग, जहाँ गयो आफ्नो पुर्पुरोसँग सम्झियो रणवीरले पनि । केही सिप लागेन वैद्यको । दिदी रमी मरेपछि कामे एक्लो भयो । कामेको पिता युद्धवीरले परमवीर चव्रm सम्मान सरकारले घोषणा गरेको रणवीरसिवाय अरु गाउँलेलाई थाहै थिएन । ठिकानाविहीन युद्धवीरको उत्तराधिकारी सेना कम्पनीले खोजिरहेको थियो । अकबरी सुनलाई कसी लाउन पर्दैन भनी रणवीरले सोच्यो । भिरको चिन्डो उँधो न उभिन्डो । बाबुतिरको काका न आमातिरको मामा नभए पनि रणवीरलाई कामे युद्धवीरको छोरो रहेछ भनी वैद्य भएर जाँदा मात्रै थाहा लाग्यो । चार विद्या चौध चतुर्याइँ रणवीरले गल्ला युद्धवीरको छोरो कामे जीवित छ भनी सेना कम्पनीलाई चिन्हाउने प्रतीक्षामा थियो । तर ! आफू ताक्छु मुढो बन्चरो ताक्छ घुँडो भयो । दैवको विचित्र लीला कामे, रणवीरलाई बस्नू भन्दाभन्दै घर जा निस्किए । आगो ताप्नु मुढाको, कुरो सुन्नु बुढाको भनी कामे चुप्प लाग्यो । रणवीर घर पुगेर आउने भनी आफू छ झारमा, खुट्टा छ भारमा भएर घर जान निस्किँदा खुट्टामा सर्पले डस्यो । कामे अभागीलाई किन हुन्थ्यो वैकुण्ठबास । रणवीरले कामे भन्दाभन्दै अस्पताल पुर्याउनै नपाई रणवीरको मृत्यु भयो । युद्धवीरको साथी रणवीरले पनि श्रद्धाको गहना, दुःखको खजाना सम्झिएर ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गो भनी सोचेको थियो । बिग्रिने बेलामा नातिदेखि नै पुछिएर आउनाले बाघले खाए पनि किलो रित्तै भिरबाट लडे पनि किलो रित्तै भयो । कामे बिचराले बाउको पाउनुपर्ने सेनाबाट सरकारी स्वीकृति सदाको निम्ति अस्तायो । यसरी नै धेरै गोर्खाको स्वीकृति भारत वर्षमा (असममा) अस्तायो ।