महेश बराल
(बरहथवा २, हजरिया, सर्लाही)
‘बा, अब हामीले जगत् साहुकोमा दिनरात पसिना बगाउनु पर्दैन रे । जगत् महाजनको छोराछोरीसँगै हामी पनि स्कुल पढ्न जान पाइन्छ रे । हाम्रो आवाज पनि सरकारले सुन्छ रे । हामी त जनताको छोरा रे । राजा र हामी त बराबरी रे । अझ हामी नै माथी रे । जनता ठुलो अरे ।
जनता जिन्दावाद !
जनता जिन्दावाद !!
गणतन्त्र जिन्दावाद !!!
अब त हामीले हाम्रो सरकार भेट्न काठमाडौँ नि जानुपर्दैन रे । सिंहदरबार पनि हाम्रै गाउँसम्म आउँछ रे । बा ! अब त हामी साँच्चै ठुला मान्छे भयौ है ? बा ! हामी त राजाभन्दा पनि ठुला है ?’ जाडो महिनामा पनि निथ्रुक्क भिजेर कराउदै थियो हर्के ‘बा’का अगाडि । सदरमुकामबाट एकै सासमा बुर्कुसी मारेर आइपुगेको थियो हर्के ‘बा’ लाई सन्देश सुनाउन ।
‘बा’ ले सुदिन सम्झे । अनि गहँभरि आँसु पारे । डोको र नाम्लो अँगेनोमा हाले । पट्पटी फुटेको कत्ले खुट्टामा चप्पल सम्झे । नाम्लो अड्याउने अभागी खप्परमा, पूर्णिमाको जून सम्झे । डोकोको भार मात्र अड्याउने ढाडलाई देशको भार बोक्ने मेरूदण्ड सम्झे ।
‘अन्ततगोत्वा, बल्ल देशले मलाई खोज्यो अनि मैले देश भेटेँ ।’ यसो भन्दै ‘बा’ उफ्रिए ।
तीन हात माथि उफ्रिए । गाउँ पूरै चक्कर मारे । गणतन्त्रको नारा घन्काउदै हिँडे । अनि त्यो गणतन्त्र मनमा रोपे । रोपेको वृक्षले फल दिन नपाउदै ‘बा’ साह्रै बिरामी परे । हर्के ‘बा’को छेवैमा बस्यो । ‘केही हुन्न ‘बा’ तिमीलाई ।’ यसो भनेर हर्केले ‘बा’ ढाडस दियो ।
‘हर्के ! मैले तिमीहरुलाई केही दिन सकिनँ । तँलाई राम्रो स्कुलमा पढाएर सरकारी जागिरे बनाउने मन थियो । घरको आँगन पोलेर तेरी बहिनीको बिहे गर्ने रहर थियो । आमाको मङ्गलसुत्र जगत् साहुकोबाट फिर्ता ल्याइदिने ठुलो मनसुबा थियो ।’ ‘बा’ले गहभरि आँसु पारेर भने ।
‘मलाई किन बचायौ ? अब यो जगत् साहुको ऋण कसले तिर्छ ?’ यसो भन्दै ‘बा’ फेरि जहाँको त्यहीँ मुर्छित भए ।
हुन पनि हो । गणतन्त्र आयो, अब राम्रो रोजगारी पाइन्छ । पढ्न लेख्न ठुला ठुला सहर जानुपर्दैन, सहुलियत शुल्कमा पढ्न पाइन्छ । उचनीच र असमानता लोप हुन्छ । धनी र गरिबका बिचको विभेदको अन्त हुने छ भन्ने विश्वास थियो ‘बा’को मनमा तर झन् असमानता, गरिबी, शोषण, भ्रष्टाचार अनि परिवारवाद हाबी हुँदै गयो जसको सिधा मार ‘बा’ले सहन गर्न सकेनन् । फलस्वरुप ऋणमोचनको उपायस्वरुप विष सेवन रोजे । तर पुनः एक लाख तीस हजारको डिस्चार्ज बिल ‘बा’को हातमा थमाइयो । ‘बा’ले एक टकले बिललाई हेरे अनि जगत् साहुको अनुहार प्रस्टसँग त्यस बिलमा देखे । ऋण तिर्न नसकेर मृत्यु रोजेका ‘बा’ले, त्यो अस्पतालको रकम तिर्नपर्नु अर्को अन्याय होइन त ? अझ प्रहरीले आत्महत्याको मुद्दा दायर गर्ने धम्की दियो । कस्तो विडम्बना ! जुन देशले आफ्ना नागरिकको गाँस, बास र कपासको ग्यारेन्टी गर्न सक्दैन, आत्महत्या गर्न विवश बनाउँछ अनि मर्न खोज्दा पनि मर्न दिँदैन त्यही देशका यस्ता तन्त्रले सायद यस्तै ललिपप देखाएर कति ‘बा’हरुलाइ सयौँपटक मृत्युको मुखमा पुर्याएका छन् ।
‘हर्के ! ए हर्केे ! ल्याइ द मेरो डोको नाम्लो ।’ ‘बा’ अस्पतालको शैय्याबाटै चिच्याए ।
‘बा’ शिरको टोपीले पसिना पुछ्दै काँधमा नाम्लो भिरेर भारीको खोजीमा बजार पसे ।