टङ्कबहादुर आलेमगर
(त्रियुगा ११, सङ्गमटोल, उदयपुर)

छोरी माग्न भेनाजुले गम्छामा झुन्ड्याएर ल्याएको एक कठुवा रक्सी समातिसकेपछि सालाले भन्यो ‘दिदी तपाईंकै घरधुरी, छोरी पनि पुतली बन्न पुग्ने भई । हाम्रो सम्बन्ध झनै हिमाल बन्ने भयो । बधाई भेनाजु ।’
जुँगामा लागेको जाँडको छोव्रmा पुछ्दै भेनाजुलेभने, ‘जय ससुरालीज्यू ! यो हाम्रो अहोभाग्य हो, लिसारजस्ती भदैनीलाई मेरो घरकी बुहारी पाउनु । हाम्रो मगरमा मामाकी छोरी हकलाग्ने भन्छन् । मेरो छोरोलाई त्यो हक कायम गराइदिनुभएकोमा हार्दिक आभार ।’
‘त्यो त हो भेनाजु तर भोलि मेरी छोरीको कारण मेरो भेनाजु र दिदी अनि म र मेरी श्रीमती एकापस्को हान्ने गोरू नबनौँ है । चेलीमाइतीको छुटनाम नहोस् । तपाईं र तपाईंको छोरोको ससुराली आँखाको अमिलो नबनोस् । भदैनीका कारण फुपू हेला नहोस् । फुपूले गर्दा भदैनीले दुःख नपाओस् । चेलीबेटीको हकदिलाउन भेना र भान्जासँग पाखुरा सुर्किने दिन आउनु हुन्न नि । रोटी चिल्लो मिठो, कुरो खस्रो मिठो ।’
मुखको खैनी आँगनतिर फ्याँक्दै भेनाले भने,‘सालाजु तपाईं ढुक्क हुनुहोस्, अब फुपूभदैनी एउटै लयोले हाँस्ने छन् । माघेसकराटीमा एकै तालमा एकै हारमा नाच्ने छन् हुर्रा ।’
‘विश्वास हुनाले त आमाजूदाजुको कुरा काट्न नसकेर माग्न लाहुरे आउने कुरा सुन्दासुन्दै हजुरहरुलाई नै सोम्पियौँ छोरी ।’लिसारकी आमाले अलिक अप्ठ्यारो मान्दै भनिन् ।
‘तपाईंको भान्जा पनि लहुरेभन्दा कम छैन । अहिले पार्टीको खिचलोले डर छ, नत्र गाउँपालिकाको अध्यक्ष चानचुने कहाँ होर !’ छाती फुकाउँदै भेनाजुले भने, ‘अँ साला र बहिनी छोरीको छाङ्ग्रा खाने कि नखाने ?‘
सालाले अकासमाथि घुमिरहेका गौथली हेर्दै भन्यो, ‘बाजेले फुपूको खानुभयो, दिदीको बुबाले खानुभयो, म किन नखाने ? फेरि यो घरको उज्यालो तपाईंकोमा सरूवा हुँदै छ । मेरो दाहिने हात चुँडालेर दिँदै छु । ठेकठाकको बही, कहिले कपाली तमसुक, सापटी टिप्पणी, फोन गर्न पर्दा नम्बर हेर्दिने, नयाँ नम्बर राखिदिने, रातबिरात आउने पाहुनालाई नझर्की खाना बनाएर खुवाउने, पर्म जाने, दोकान जाने अनि यस्ती छोरीको छाङ्ग्रा नखाई हुन्छ त ? एकमुरी टुप्पा काटेको चामल, एकमुरीको सुँगुर, पन्द्रह कोरी सेलरोटी, एकघ्याम्पा मिठो रक्सी । बिहेको अघिल्लो दिन आइपुग्नुपर्छ । यति त खाने नै हो, जसले जे जे भनुन् । अनि गहनामा काँढे चुरा, कल्ली ढुङ्ग्रीमुन्द्री, दोकाधे कम्पनी हारी ल्याउनै पर्छ । अन्य तपाईंको विचार ।’
‘हुन्छ ससुरालीजु दिन ढल्क्यो म गएँ है । अझै केही कुरोको चुरो त बाँकी छैन होला ।’
‘छैन भेनाजु ।’
भेनाले घुम्ती काट्नेबित्तिकै दहिलोको चेपमा लेप्सेर बुबाआमा र फुपाजुका कुरा सुनिरहेकी लिसार हुर्रिएर आई र बुबालाई भनी, ‘यो युगमा पनि छोरीको छाङ्ग्रा खाने ? कति मान्छे छोरी पुग्ने घरको पानीसम्म खाँदैनन् । कतिले छोरा र छोरीलाई बराबरी अंश दिएका छन् । तपाईंचाहिँ मेरो छाङ्ग्रा खाने ? फुपूफुपाजुलाई ऋणमा पार्नु मलाई पार्नु हो।’
लिसार रूनु थाल्छे ।
‘छोरी, मैले छाङ्ग्राखा’को होइन । हाम्रो संस्कृति बचा’को हो । अन्य दिने कुरो दिन्छु, बिहेमा होइन । छोरीको बिहेमा दाइजो दिनुपर्छ भन्ने संस्कारको जग गाड्न चाहदिनँ । यथासक्य दिने जसरी उहिलेदेखि चलेको रितअनुसार म दिन्छु नै । कस्को आमाबाउ होलान् छोरीलाई नदिऊँ भन्ने । छाङ्ग्रा ल्याउने कुरोमा दिदीभेनाले जान्नुभा’कै होला ‘सर्प पनि भाग्ने, लौरो पनि नभाँचिने‘ भनाइ ।’
लिसारखुसी हुँदै घरमाथिको बर्खेगोठतिर जान्छे र कान्छी फुपू, भावी सासूलाई फोन गर्छे मरीमरी हाँस्दै ।
बिहेको अघिल्लो दिन भेनाजु आइपुग्नुभयो छाङ्ग्रा लिएर ।
बिहानै लिपेको आँगनमा बसेर गाउँलेसँग सरसल्लाह गर्दै बसेको साला पनि खुसी भयो भेनाजुसँगै पाँच जना सोली बोकेका खाइलाग्दा युवाहरुलाई देख्दा ।
पहिले सालाले भेनाको खुट्टामा ढोग्दै भन्यो, ‘हइन, मान्छे त थुप्रै लिएर आउनुभोत भेनाजु ?’
‘हइन, छाङ्ग्रा पनि धेरै हुनाले सालाजु ।’
‘ए ए लु बसौँ ।’ पहिले नै ओछ्याइराखेको गुन्द्रीमाथि राडी ओछ्याएको ठाउँतिर इसारा ग¥यो सालाले ।
अगाडि पाँचओटा सोली छ जाली बर्काेले छोपेको ।
‘लौ साला,सालाबहिनी र उपस्थित गाउँले मान्यगन्य मानुभावहरु सबैलाई झोरा !’ नमस्कार गर्दै भेनाले भन्नुभयो,‘हामी मगरको रितअनुसार छाङ्ग्रा लिएर आएका छौँ । र, हजुरहरुका अगाडि छाङ्ग्रा बुझाइरहेको छु । कमीकमजोरी केही रहेछ भने सालालगायत यो जमघटले माफी दिनुहोला ।’एउटा सोलीबाट एक कठुवा रक्सी र एक बहता सेलरोटी, एक बहता केरा राख्दै भन्नुभो, ‘यो कोसेली ।‘ अर्को सोलीबाट एक दुना चामल झिकेर सालाकोअगाडि राख्दै, ‘यो एकमुरी चामल,चित्रे पाथीले भरेको तामे पाथीले भरेर लिनुहोला ।’ धागोले बाँधेको एककोसा झपरी केरालाई भुइँमा राख्दै, ‘अन्दाजी एकाइस धार्नीको सुँगुर काटेर तुलै लगाउनुहोला । कम भए थप्ने छु ।’ एक बहता सिन्काले खिलेर पातैले छोपेको रोटी राख्दै, ‘पन्द्रह कोरी रोटी छ, विश्वास नलागे गन्नुहोला ।’ अर्को सोलीबाट एक कठुवा रक्सी झिकेर राख्दै, ‘यो एक घ्याम्पो तीनपाने आगो बल्ने रक्सी । तपसिलबोमजिम समानहरु सदर छन् । बदर ठहरिए पुनः छाङ्ग्रा भरिभराउ गर्ने प्रतिज्ञा समेत गर्छु ।’
‘तपसिलबामजिमका समानहरु छाङ्ग्राका रुपमा दुरूस्त छन् गाउँलेको साक्षीरोहोबरमा बुझिलिएको सही र सत्य हो ।’ भन्दै सालाले श्रीमतीलाई बोलायो, ‘ए लिसाराकी आमा ! लु यो छाङ्ग्रा लगेर यत्नसाथ राख्नू । भरै माइती माउली बोलाएर खुवाउनुपर्छ ।’
यति भनिसक्दा ताली बजाएर उपस्थित, सबै जना उन्मुक्त भएर हाँसे ।
फेरि भेनाजुलाई नमस्ते गर्दै सालाले भन्यो, ‘भेनाजु तपाईंको छाङ्ग्राले प्रफुल्ल भयौँ हामी माइतीगामले । यति समसामयिक र प्रेरक छाङ्ग्राबुझाउनेबुद्धितपाईंआफ्नैहोयाकसैकोहो?‘
भेनाजु हाँस्दै भने, ‘तपाईंकी छोरी मेरी बुहारी लिसारको हो सालाजु ।’अँगाले सालालाई ।
साला पनि खुसी भयो, लिसार छोरीको चतु¥याइँप्रति ।
लामै मनोरञ्जनमय समयपश्चात् सालाले सबैलाई मेझोर (नमस्कार) गर्दै भन्यो, ‘छोरीको छाङ्ग्रा खाएर आफ्नो परम्परा जोगाउँदै आउनुहुने महान् मगरहरुसँग माफी माग्दै भन्न चाहान्छु, ‘हाम्रो महान् संस्कारलाई हेला गरेको होइन । हाँसो बनाएर खिल्ली उडाउन खोजिएको पनि होइन । बिस्तारै हाम्रो छाङ्ग्रा परम्परा लोप हुँदै गएको हुनाले, हामीले कम खर्चालु संस्कारसंस्कृति बनाएर हाम्रो मौलिक परम्परालाई जिउँदो राखौँ भन्नको खातिर गरिएको हो । यसकार्यलाई अनर्थ नबुझी दिनुहोला । अब हामीले मितव्ययी संस्कृतिको अवलम्बन गर्ने भन्न खोजिएको हो ।’
फेरि सालाले भेनाजुतिर हेर्दै भन्यो, ‘पहिल्यै माफी मागेँ भेनाजु । बिहेको कुरो छिन्ने दिन बेहुलासँगै जन्तीसमेतले अनिवार्य मगर भेष लगाउनुपर्ने छ । त्यो गैरमगर जन्तीमा लागुहुने छैन । बेहुलीको लागि पनि मगर पहिरन नै ल्याउनुहोला ।’
भेनाजुले मुस्कुराउदै भने, ‘हाम्रो मौलिक संस्कारका प्रिय सालाजुलाई ध्यानमा राख्दै मैले सबै जोगाड गरिसकेको छु । बरू हाम्रो स्वागत हाम्रै परम्पराले होला नि ?’
‘हजुर निश्चिन्त हुनुहोस् भेनाजु, स्वागत मगरमय हुने छ ।’ सालाले हातजोड्दै भन्यो ।
सबैलेखुसीमय बन्दै फेरि ताली पड्काए ।
सबैभन्दा खुसी त भोलिकी बेहुली लिसार मगर थिइन्, त्यस हुलमा ।

Facebook Comments Box

Similar Posts