सुमन राई
चिटिक्क परेको उनको पहिरन
जसले झल्किएको छ
उनको शालीन व्यक्तित्व ।
ओढेकी हुन् उनले
कर्मचारीको कोट
गृहिणी चोलोमाथि
उनको अनुहारको त्यो
उज्यालो मुस्कान
कति कौशलपूर्वक लुकाएकी छे ।
उनको दोहोरो जिम्मेवारीको थकान
खुब निभाएकी छे नारी हुनुको अस्तित्व
नियालेर हेर उनको त्यो
चिटिक्क परेको पोसाकमा ।
अनेकौँ छिटाहरु देख्ने छौ
आमाको मातृत्वको
श्रीमतीको स्नेहको
बुहारीको जिम्मेवारीको
छोरीका अनेकौँ अधुरा सपनाहरु
इत्यादि इत्यादि ।
उनको त्यो शालीन व्यक्तित्व
धर्तीजस्तै अटल अनि अटुट
जसले दबाएको छ
आफूभित्रको ज्वलामुखी
उनको त्यो उज्यालो मुस्कान
जस्तै भर्खर फक्रिएको गुलाबको फूल
काँडाहरुबिच
फक्रिएकी हुन् उनी ।
कति सरल, कति सुन्दर
कति कोमल अनि कति मजबुत
चिटिक्क परेको उनको पहिरन
जसले झल्कएको छ
उनको शालीन व्यक्तित्व
ओढेकी हुन् उनले
कर्मचारीको कोट
गृहिणी चोलोमाथि ।