भोजराज रेग्मी ‘मुखाले’

उग्र !
मभन्दा पनि धेरै उग्र

मूर्ख मान्छेले
कैयौँ वर्ष लगाएर जन्माएको
विज्ञानी विकास नामक पटमूर्ख
जब समयकै सम्राट् कहलियो
ठाउँ कुठाउँ अभिनन्दित भएर
पुजियो, ढोगियो
प्रभुको लीला भन्नुपर्यो
हेर्दाहेर्दै भष्मासुर भएर पो निस्क्यो ।

अनि,
त्यो त मैमत्त साँढे भएर हिँड्न थाल्यो
मान्छेका भावनामाथि अहोरात्र परेड खेल्न थाल्यो
मान्छेका संवेदनामा पटका पट्काएर
भयको दसैँ
अनि
भ्रमको तिहार मनाउन थाल्यो
उसैको मायाप्रेममा लहसिएर
मान्छेले आफ्नो जन्मदाता प्रकृतिलाई पनि
अचाक्ली बेवास्ता र हेला गर्न थाल्यो
अनि आफैले पुल्पुल्याएको
बाइफाले सन्तानको उपद्रवलाई पनि
उत्सव मानेर रमाइरह्यो ।
त्यही भष्मासुरको
पागल प्रणयको परिणाम भनौँ
जालप्रपञ्चको भ्रूण विकसित भएर
अराजकताको काइते कोखबाट जन्मेर
विध्वंसको आँगनमा हुर्केको
कार्बन डाइअक्साइडको
चर्को र्याप र रक सङ्गीतले
मन थाम्न नसकेर होला
ओजोनले आफ्नो मर्यादा मिचेर
लत्तो छाड्यो
जलवायुले आफ्नो संस्कार भुल्यो
अनुशासन कुल्चेर
आफ्ना वस्त्रहरु फाल्यो
र,
नाङ्गो नाच देखाउन थाल्यो ।
आफन्तहरुकै निर्लज्ज पारा देखेर
हँसमुख हिमालहरु पनि
लाजले पग्लेर पानी पानी भए
सरमले डामेर निलाकाला भए
त्यति मात्रै कहाँ हो र !

नदीहरु पिरले सुक्दै सुक्दै सुक्दै
सुकेनाशका रोगी भए
सुन्दर वनस्पतिहरु पनि
विरक्त वैरागिएर
लोभलाग्दा स्वरुपबाट
हेरिनसक्नु कुरुप हुँदै पलायन हुँदै गए
पश्चिमका जङ्गलमा राउटेको छायाँ देख्दा पनि
तर्सिने बाँदरजस्तै

कार्बनडाईअक्साइडको कर्कश स्वर
अनि कहालीलाग्दो हाउभाउ देखेर भोगेर
निर्धो अक्सिजनको सातो हराएको छ ।
अनि, त्यही अक्सिजनको सातो खोज्न
हिँंडेका हामी
कित्ता कित्तामा बाँडिएका छौँ
बित्ता बित्तामा भाँडिएका छौँ
आफ्नो कित्ताको मान्छेले मनपरी गर्दा
बित्ताको बिनाबित्थाको ठानेर आँखा चिम्लन्छौँ ,
काखी चेप्छौँ र जयकार गर्छौं
अर्को कित्ताको मान्छेले लामो श्वास फेर्यो भने पनि
आँधी आएको ठानेर हाहाकार गर्छौं ।

यसरी हामी आफै जयकारमै जाकिएका छौँ
हाहाकारमै बेपत्तासँग हराएका छौँ ।
सिंहासनमा विराजमान ए ज्ञानी मान्छे !
हाम्रो प्राणवायुको हराएको सातो खोज्दाखोज्दै
हामी मूर्खहरु केही समयदेखि हराएका छौँ
हाम्रो लाज पचाउन
तेरो सिँहासन जोगाउनु छ कसै गरी पनि
हामी मूर्खहरुको प्राणवायु
फेरि नहराउने गरी फेला पारी दे !
जसरी भए पनि हाम्रो सातो फर्काई दे !!
हाम्रो सातो फर्काई दे !
हाम्रो सातो फर्काई दे !!

Facebook Comments Box

Similar Posts