प्रकाश अधिकारी

आदिमदेखि अनन्त
निष्पट्ट अँध्यारो चिर्दै
स्वर्णिम बिहानी ल्याउन
एउटा भूगोलपार्कमा
एक जात, धर्म र भाषाको
सुन्दर फूलबारी बनाएर
कुरुप सपनाहरुको अपहरण गर्दै
गाउँसहरसम्म पुर्याउन
सिंहदरबार
रगतको होली खेलेका
उनी त ‘जङ्गली’ भइगए
ओढेर आवरण राष्ट्रवादको
भित्रभित्रै
धमिरो लागेको

बुढो पिपलजस्तै
वायुको सानो
झोक्काको स्पर्शले
लथालिङ्ग बनाएको
तासको खाली घरजस्तै
उनको पनि ‘खोक्रो राष्ट्रवाद’
गल्र्यामगुर्लुम्म ढली गयो ।

खै, कहाँ उस्तै रह्यो र
रङको इन्द्रेणी इन्द्रेणीको रङ
को रह्यो र रेड
देख्छु मात्र कम – रेड
रेडभित्रै रेडिमेट

धुमिल रातमा
रङ्गीन रहर मिसाएर
यसरी छेपारोले झैँ
समयसँगै
रङ फेरिरहेको सुन्दर तस्बिर
मेरो देशको बाहेक
अरु कसको हुन सक्छ हँ ?

उहिल्यै जिउँदो लास लिएर
पतिसँगै सती जानुपर्ने
सतीले सरापेको,
योगमाया र भीमसेनको आत्माले भड्किएको
मेरो देश
उस्तै भएर पनि ‘अछुत’
बौद्धिक भएर पनि निरक्षर
संवेदनाहीन कङ्कालजस्तै
निरीह, अस्तित्वहीन
गोलभूगोल
मेरो देश नभएर कुन हुन सक्छ ?

ब्ल्याक होलझैँ
आफैले आफ्नो उज्यालो खाएर
भ्रमित हुँदै बाँचिरहेको
यो अस्पष्ट चित्र
मेरो देशको बाहेक
अरु कसको हुन सक्छ हँ ?

Facebook Comments Box

Similar Posts