युवराज घलेभाइ
(गान्तोक, पूर्व सिक्किम, भारत)
‘म’ जिउँदो छु भन्ने
अनेकौँ प्रमाण छन् मसँग
तैपनि तिमी किन घरी घरी
पार्टीको सदस्यताको प्रमाणपत्र माग्छौ ?
औँलामा नङहरु पलाइरहेकै छन्
त्यसैले ‘म’ जिउँदो छु ।
अनुहारमा दाह्री बढिरहेकैै छन्
त्यसैले ‘म’ जिउँदो छु ।
मैले भोट दिन बिर्सेको छैनँ
पसिनाको रङ बिर्सेको छैनँ ।
मेरा बालबच्चाहरु रोएको सङ्गीतलाई
राम्ररी बुझेको छु मैले
त्यसैले ‘म’ जिउँदो छु ।
मेरा सहयात्रीहरु
‘म’ जिउँदो छु…
भोक लाग्नु थियो – लागिरहेकैै छन् ।
कपाल दुख्नु थियो – दुखिरहेकै छ ।
सडकमा बगेको मेरो रगत
मलाई नै हेरेर मुस्कुराइरहेको छ ।
मैले सपना देख्न बिर्सेको छैनँ
‘गीत गाउन’ बिर्सेको छैनँ ।
तिम्रो पार्टीको यशस्वी झन्डाजस्तै
फरफराइरहेको छ गोप्य अङ्ग
त्यसैले ‘म’ जिउँदो छु ।
यति खेर ‘म’ जुन गाउँमा बाँचेको छु
एउटा नागरिक जिउँदो हुनुका लागि
यति नै पर्याप्त छैन र ??