- विपिनचन्द्र बनेपाली
हिँड्दै छ यो दुनियाँ
मस्तिष्क निर्देशित नागबेली बाटो
सोच्छ र बोल्छ मस्तिष्कले
अनि सुनिन थाल्छ सबैतिर
मस्तिष्कको भाषा
देखिन थाल्छ मस्तिष्ककै व्यवहार
जब सञ्चालन हुन्छ दुनियाँ मस्तिष्ककै ऊर्जाबाट
तब, एडिसनले बिर्सेझैँ आफ्नै नाम
एक सुस्त विद्यार्थीले अनेकौँ कोसिसका बाबजुद
नबुझेझैँ गणितका सूत्रहरु
अलमलिएझैँ ज्यामितीय रेखाहरुमा
दुनियाँको गालीलाई ठानेँ मिठो गीत
कूटिलतालाई बुझेँ आत्मीयता
अन्योलमा छु आज, दिग्भ्रमित छु
र भएको छु कैद
आफ्नै हृदयभित्र एक्लै
म हृदयजीवी
मसँग त छ फगत एउटा सग्लो हृदय


