किशन पौडेल
(हेटौँडा ४, मकवानपुर)
आदिम,
सभ्यताको घाँटीबाट
अविरल बग्दै आएको
म निर्मल पवित्र बागमती
तिम्रा दुष्कर्मका पापहरु
पखाल्दापखाल्दै
दूषित भएको छु ।
म
तिम्रा पितृहरुलाई पिण्डपानी
पिलाउँदापिलाउँदै
काकाकुल भएर तड्पिरहेछु ।
मसँग अहिले जीवनको चञ्चल वेग छैन
मेरा बहावमा कुनै उमङ्ग र तरङ्ग छैन
मेरो जीवनको लय सकिएको छ
म गतिहीन र निस्तेज भएको छु ।
मेरो काखमा आएर पौडिने
ससाना भुराहरु खै कहाँ गए ?
मेरो आँगनको डिलमा आएर
साँझपख टरटर कराउने
भ्यागुताहरुको सङ्गीत खै किन सुनिँदैन ?
मेरो छातीमा टेकेर तनतन पानी पिउन
किन आउँदैन काकाकुल कौवाहरु ?
तिम्रो सभ्यताको बुल्डोजरले
मेरो स्निग्ध छातीमा लात हानेर उठाएको
सम्पन्नताको महलभित्रबाट किन खस्छ
मेरै आँगनको बलेँसीमा
असभ्यताको लेदो ?
किन विसर्जन हुन्छ मेरो वक्षस्थलमा
दूषित वीर्यका थैलीहरु ?
मेरो सार्वभौम अस्मितामाथि
किन हुन्छ बारम्बार बलात्कार ?
मेरो सौन्दर्यलाई तेजोबध गर्ने
ती हातहरुलाई किन लाग्दैनन् हतकडी ?
मेरा पाश्र्ववर्र्ती निलकण्ठ किन मौन छन्
किन बोल्दैनन् श्रापित विरुपाक्ष ?
हे ! नगरका शालीन भद्रहरु हो !
हे ! सिंहदरबारका मान्यवरहरु हो !
मलाई बाँच्न उन्मुक्त आकाश देऊ
मलाई हाँस्न अलिकति सास देऊ
एउटा उत्कट जिजीविषा बोकेर
बिरुप समयको भेन्टिलेटरमा धड्किरहेको
यो इतिहासको एउटा जिउँदो साक्षी
तिम्रो सभ्यताको धरोहर
म फगत बुढो बागमती हुँ !


