यकिना अगाध
शान्त बस्नु
मुर्दा हुनु हो ।
मुर्दालाई
न दिनको आशा हुन्छ
न रातको त्रास हुन्छ ।
मुर्दालाई
सबै वस्त्र खोसेर नाङ्गै पारे पनि
न लाज सरमले शिर तल झुक्छ
सबैभन्दा सुन्दर वस्त्रले सुशोभित पारे पनि
न गर्वले शिर माथि उठ्छ ।
मुर्दालाई
भोक, तिर्खा, अभाव
केहीले पनि दुःखी बनाउँदैन
चौरासी व्यञ्जन, ऐशआराम, सम्पन्नता
केहीले पनि सुखी बनाउँदैन ।
मुर्दालाई
अपमानको तीरले घोचोस् कि
सम्मानको सलामीले उत्तेजित बनाओस्
उसले कुनै प्रतिवाद गर्दैन
उसको कुनै प्रतिक्रिया हुँदैन ।
मुर्दा हुनु
संसारलाई त्याग्नु हो, बेवास्ता गर्नु हो ।
हामी बाँच्ने आशा साँच्नेहरु
संसारलाई माया गर्नेहरु
यो समय
किन शान्त भएर उभिरहेका छौँ ?