कविता राई ‘गाउँले’
(पशुपतिनगर, इलाम)
यतै कतै छोडिएको हुनुपर्छ
आखाँले सम्हाल्दासम्हाल्दै छुटेका
एक आँखा हरियो सपना…
कहिलेकाहीँ
त्यही सपनालाई स्पर्श गर्दै
हुइँकिने एक हुल बतासले
यो मनको पाखातिर
सम्झनाको पिपिरी बजाइदिन्छ र
झलझली तिमी याद आउँछौ
अनि
तिम्रो अनुहार सम्झिँदा
सपनाको पहाड कसरी भत्काऊँ लाग्छ
तिम्रो मन सम्झिँदा
सपनाको आँधी कसरी सम्हालूँ लाग्छ
तिम्रो वाचा/कसम सम्झिँदा
सपनाको बाँध कसरी बाधूँ लाग्छ
तिम्रो पागलपन सम्झिँदा
सपनाको आकार कसरी बदलूँ लाग्छ
तिम्रो अहम् सम्झिँदा
सपनाको रङ कसरी फेरुँ लाग्छ
तिम्रो प्रेम सम्झिँदा
सपनाको डढेलो कसरी निभाऊँ लाग्छ
भनिन्छ नि
धोका जस्तो सुन्दर अरु केही हुन्न
हो
तिम्रो सुन्दर धोका सम्झिँदा
सपनाको कविता कसरी लेखूँ लाग्छ
यतै कतै छोडिएको हुनुपर्छ
मनले मनलाई सम्हाल्दासम्हाल्दै छुटेका
एक हृदय हरियो सपना ….