सन्तोष शर्मा ‘पवन’
(पोखरा १६ बाटुलेचौर, हाल:  सेन्ट्रल कोस्ट न्युसाउथवेल्स, अस्ट्रेलिया)

अब त भो
यो नयाँ वर्ष पनि किन मनाउने
पूरा हुँदै नहुने
आशा र आशीर्वादहरु किन दिने
यहाँ प्रत्येक पल त्रास बाँच्नुपर्छ
हाँस्ने ओठहरुको हाँसो ल्याउने
नयाँ वर्ष कुन जुगमा आउँला
प्रश्न गर्दै छिन् मेरी आमा
मेरो बाटो हेरेर ।

हो त म धेरै टाढा छु
नयाँ वर्षहरु आए गए
मेरी आमाको खुसी आएन
मजस्तै रहेछ नयाँ वर्ष
हो मेरी आमाको मजस्तै
केवल भाका सारेर बसेको
अन्तै कुन्नि कता हो कता
मेरी आमा जुठेल्नो र मझेरीबाट
बाहिर निस्केकी छैन ।

पल्लो गाउँको नराम्रो खबर
छोरो बाक्सा भरेर होइन
बाक्साभरि भएर आयो
यसै बेला पोहोर साल
नयाँ वर्षको पीडा पोख्दापोख्दै
डाँकै छाडिन् आमाले यसपालि मसँग
र भनिन् नयाँ वर्ष नआओस् भो ।

रोएकोरोएकै ती आँखाहरु
म जन्मेकै दिनदेखि ओबाउनै पाएनन्
प्रत्येक नयाँँ वर्षमा
फेरिएर आएका मेरा मागहरु
आमाको आधा पेटबाट पूरा भएका रहेछन्
म अझै
निर्दयी नयाँ वर्षझैँ बुझ पचाउँदै छु
अझै मेरो चिन्तामा
मेरी आमाले आधा पेट खाएर
यो नयाँ वर्षसँग
मेरो भिख मागेको कुरा ।

खोइ, के भन्छिन् र मेरी आमाले
म र नयाँ वर्षको उधारो सपना
रातभरि आँखामा बयेली खेल्छ
बिहानको झुल्के घामसँगै
फुर्र धोबिनीझैँ
धेरैपटक हराएकी अभ्यस्त
मेरी आमाको नयाँ वर्ष
फेरि उस्तै त्रासदीमा उदाएको छ ।

Facebook Comments Box

Similar Posts