शेखर अर्याल
उता चित्कारको धुनसँगै
नारायणगढ मुग्लिन सडकमा
गड्गडाउँदै वेगले
सिमलतालको पहिरो जाँदा
जोडी ठुला दुई ढुकुर
मनदरबारको सिंहासन गड्गडाइरहेछ
हेलिएर दुई यात्रुवाहक बस
त्रिशूलीको समाउँदा गर्भ पनि
सम्भोग बडे बडे ढुकुरको
भएर होला चरमोत्कर्ष
पत्तै भएन हेलिएको त्रिशूलीमा
हेर्दाहेर्दै तिम्रो लीला
केही छलिए कसरी त्यहाँ
छेउछाउ ओत लागेका
निहत्था अङ्गभङ्ग बेपत्ता ती
उद्धार उपचारको भिख मागिरहेछन् ।
यता बडे बडे मनतन्त्रको दरबारमा
घर घरमा पदको बाढी पसेर
साँढे साँढे जुरो हल्लाउँदै
दलेर माटो जनशिरमा
मनदरबारका पाखण्डीहरु
केवल पाखण्डको विजयोत्सव मनाइरहेछन् ।
उता बाढीपहिरोको चपेटामा
मानव माग्दै सुरक्षाको भिख
छामछुम गर्दै तड्पिएर
एक मुठी श्वासका खातिर
सिमलताल, शोकमग्न रौतहट
अन्तस्करणबाट भिख मागिरहेछन् ।
यता मनदरबारमा खै किन हो ?
भुटानी, गिरिबन्धु, बालुवाटार, कैलाली
अनि सुन, नुन बनेका घुन काण्ड
खै, अरु केले हो केले
पोल्नसम्म पोल्यो नाक ठड्याउनेलाई
एउटा सुशासन भन्दै
तड्पिन्छ जोगाउन हरपल
बल न्वारानको झिक्दै
अर्काे खडा गर्दै दुई स्तम्भ
फैलाएर तालजाल
माछा ढोक्सामा पारिरहेछ ।
उता घिटिघिटी हुँदा मनमोहन
फाल्नसम्म श्वास फाल्ने
आफ्नै कन्दनी दिई बाँध्न लगाउने
त्रिभुवन विश्वविद्यालय निल्ने
संस्थान भर्तीकेन्द्र बनाउने
उद्योग निजीकरण गर्ने
महाकाली धरापमा राख्ने
ती चञ्चले धर्तीका सलहहरु
कोसी, नारायणी, कर्णालीको वहावसँगै
बसी मनदरबारको सिंहासनमा
धर्तीकै छातीमा लात हानिरहेछन् ।
यता खाना, छाना, नानामा तड्पेका
भुमरीको भुमरीमा घुमेका
स्वर निकाल्दै विद्रोहको
मनदरबारको खिल्ली उडाइरहेछन्
उथलपुथल संविधानका धारा
घुमाउँदै दिमागी गिर्खा
सिमलतालमा होइन
मनदरबारको ढोका उघार्छन्
सलहका लगौटियाहरु
भन्दै पुगेन राहत
आँ आँ मुख बाएर
सलह चारोमै तड्पिएछन् ।
उता आँ आँ गर्दै तड्पिएका सलह
मोजमस्तीमा रमाइरहेछन्
खै अरु के के गर्छन् थाहा भएन
यताका भने पहिरोको जोखिममा
ओढेको खोल भन्दै संविधानको
खोलमाथि खोल ओढिरहेछन् ।
यता उता होइन अब
जनदरबार सजाऊ
सलहको खोल होइन
आफ्नै वस्त्र लगाऊ
परेर स्वार्थैस्वार्थको चङ्गुलमा
सलह भेडा बनाइरहेछन्
स्वार्थका खातिर खै किन हो
सलहकै सिकार बनिरहेछन् ।