विष्णु दाहाल
(इनरूवा ५, सुनसरी)
(छन्द: अनुष्टुप्)
देखिँदै छन् विधा नौला कविताका बजारमा
आरोहणविनै उच्च शैल चुम्ने हतारमा ।
कविताको बगैँचामा शब्दार्थको सुगन्ध खै
काव्य सौन्दर्यका तङ्खव रसालङ्कार छन्द खै ?
आँखा तस्बिरमा पुग्छन् पुग्दैनन् रचनातिर
गद्यकाव्य बिके किन्तु बिकेनन् पद्य सुन्दर ।
बिरुपका कथा लेखी कवि बन्ने प्रशस्त छन्
पारखी हुँ भनी आफै प्रशंसामा निमग्न छन् ।
विनास्याहारले आजै होला झैँ छ कुपोषण
फूलका बिचमा काँडा होला र के सुशोभन ?
शब्दपुञ्ज थुपार्दैमा कविता सौम्य हुन्न कि
गैह्रो भावविना भित्री हृदय पो छुँदैन कि ?
पाखुराको बनोस् काव्य टाकुराको चुमोस् शिर
शिशिरमा फूलोस् फूल रुप फेरोस् कि पत्थर ।
झुल्कियोस् कविताभित्र पूर्णिमाको शशी अब
जूनकिरी बनोस् शैली शिल्पमा विजयोत्सव ।
अर्थपूर्ण बनुन् काव्य ओजपूर्ण बनुन् कवि
जस्तो कि तेजले युक्त नभमा व्याप्त छन् रवि ।
शब्द शब्द उनी माला गाँसियुन् काव्य कुञ्जमा
कस्तुरीको बिनाजस्तै सुवासिलो निकुञ्जमा ।।
आओस् कि कविमा यस्तो अपूर्व जोसजाँगर
रचोस् कि कविता त्यस्तो बढोस् मान र आदर ।
नौला नौला भरोस् बुट्टा लाओस् जामा र घाँघर
अटाओस् बिन्दुमा सिन्धु बुँदमा भवसागर ।।