विक्रम तिरूवा सलिन
(जुम्ला)
हिँडेपछि अवश्य पुगिन्छ शिखरमा एकदिन
रमाउनु छ पूरा गरेर आफ्ना रहरमा एकदिन ।
केही गर्छु भन्ने होडले टाढा भएको मात्र हुँ
अवश्य नै खुसी लिएर पुग्ने छु घरमा एकदिन ।
कहिल्यै पनि रोकिने छैन जीवनको गोरेटोमा
सफल भएरै छोड्छु आखिर सफरमा एकदिन ।
अब यस्तो मेहनत गर्ने छु यो जिन्दगीमा मैले
अवश्य नै चुनिने छु सबैको लिडरमा एकदिन ।
घमन्ड गर्न जान्दैनँ म र कहिल्यै गर्ने पनि छैन
मेरो अस्थिपञ्जर मिसिने छ बगरमा एकदिन ।