टिबी कोइराला
(गोरखा)
तपाईंको गाउँलाई कस्तो छ कुन्नि ?
हाम्रो गाउँ त आधा सन्चो आधा बिसन्चो छ ।
तपाईंको गाउँले दसैँ मनायो कि मनाएन कुन्नि ?
हाम्रो गाउँले त दसैँ मनायो ।
तपाईंको दसैँले गाउँ पायो कि पाएन कुन्नि ?
हाम्रो दसैँले त गाउँ पाएन ।
गाउँले दसैँ त मनायो
तर दसैँले गाउँ पाएन ।
लाहुरेहरु घर फर्कन थालेपछि,
धानका बाला लहलह झुलेपछि,
आकाशमा बर्सातको वादल फाटेपछि
हप्तौँलाई पुग्ने घाँसदाउरा काटेपछि
आरनबाट हतियारमा साँध लगाएर ल्याएपछि
बुङबुङी गनाउने बोकाहरु घर घरमा कराएपछि
बल्ल दसैँले गाउँ पाउँथ्यो ।
घरलाई रातो माटो र कमेरोले सजाएपछि
घाँसपात पकाएर झ्यालढोका रङ्गाएपछि
बेटरीको कालो निकालेर पुरेनी भरेपछि
आँगन करेसा सफासुग्घर गरेपछि
खन्ती कोदालाले बाटोघाटो मिलाएपछि
धारा, चौतारा र पाटीपौवा उजिल्याएपछि
बजारबाट नुन, चिनी, मरमसला घरमा भित्र्याएपछि
बल्लबल्ल बालबच्चाले नयाँ नाना पाएपछि
नयाँ नाना छिमेकीको घर घरमा देखाएपछि
अहा कति राम्रो ! भनेर साथीहरुबाट प्रशंसा पाएपछि
बल्ल दसैँले गाउँ पाउँथ्यो ।
महिनौँदेखि कुरेर कोलमा तेल पेल्ने पालो पाएपछि
रातभरि पालो कुरेर ढिकीमा चिउरा कुटाएपछि
एक जोर नयाँ बेटरी किनेर क्यासेट घन्काएपछि
लोकदोहोरी र मादलको रन्कोले गाँउ रन्काएपछि
लाल्टिन, मइन्टोल र टसलाइट बालेर उजिल्याएपछि
बास आउने तेल दलेर जुल्फी लर्काएपछि
चौतारी र डबलीमा नाटक प्रहसनले गाउँ हँसाएपछि
जान्नेले नाच्ने, नजान्नेलाई पनि जबर्जस्ती नचाएपछि
लिङ्गेपिङ मच्चाएर लिङ्गोको टुप्पो छुन पाएपछि
रिङटा लागुन्जेल जाँतेपिङमा घुमाएर उल्टी गराएपछि
तरूनीहरुको पछ्यौरी उडाउने गरी रोटेपिङ बत्ताएपछि
बल्ल दसैँले गाउँ पाउँथ्यो ।
तपाईंको गाउँमा के कसो भयो कुन्नि
हाम्रो गाउँमा दसैँ त आयो
तर दसैँले गाउँ पाएन ।