देवकुमार दुमी
(सिक्किम, भारत)
मौन तर्कवितर्क गर्दै उसभित्रको मान्छे अस्थिर पाइलाहरु हिँडिरहेका सडकभरि मानिसका अपार भिडले, मनिसका अनन्त समस्या, अमानवीय कर्म, डाह र षड्यन्त्रका विषाक्त नङ्ग्राले चिथोरिरहेकोे शिथिल सहरजस्तै निर्बल बन्दै बन्दै छ आजकल ऊ । निर्मम हिंसाहरु देखेर पनि नदेखिएको हुनुपर्ने मानसिकताको सिकार भई बाँचिरहेका मान्छेमाझ धक्काधक्की गर्दै हिँड्दै छ ऊ । के हिँड्दै छ भन्नु ! एउटा आघात र समस्या हिँड्दै छ । तनाव, छटपटी र उकुसमुकुस हिँड्दै छ ।
दिनभर चौकी तताउने सरकारी मान्छे महिनावारी तनखामा आफू बाँचेको, खुसी बटुल्ने अरु कतिपयजस्तै हाँसोको चट्टानमाथि ऊ आँसु बग्दै छ । प्रतिपल ऊ तप्केर झर्दै छ । ऊ अघि बढ्दै छ । मान्छे देवदत्त बसेको यो समाज र जङ्गलमा घायल हाँस; ऊ सकी नसकी उड्ने कोसिस गर्दै छ ।
‘रमेश दाजु’ अफिसको प्राङ्गणमा बिनिताको सम्बोधनले ऊ झस्किन्छ । मुस्कानले प्रत्युत्तर दिँदै अफिसमा भित्रिन्छ ।
सबैको आकर्षणको केन्द्र, रुपकी धनी बिनिता । स्वर्गकी अपसरा, क्लियोपेट्रा, हेलेन आदि बिनिताजस्तै थिए कि !!
कसैको मनको चाह अपूरो जिन्दगीको बाजीमा कसैले हार मात्रै स्वीकार गर्न पर्यो । दाल, भात र डुकुको समस्याबाट कसैले मुक्ति पाएनन् आजीवन । कसैले अजीर्ण हुने गरी लुटेर जमाखोर हुने मौका पाइरहेका छन् । दुनियाका अड्बाङ्गे रीत बनाउँदै समय हिँडिरह्यो ।
साँझ पर्नै लागेछ । अफिस छुट्टी भएर ऊ निस्क्यो ।
उहीँ बाटो, कुइनेटो र गल्छेडोहरु पार गर्दै ऊ फेरि पनि हिँड्न लाग्यो … ऊ हिँड्यो र हिँडिरह्यो ।
मात्र हिँडिरह्यो ।