केशव सिग्देल
एउटा भव्य घोषणासभामा
मैले पनि पढेको हुँ
प्रेमको नयाँ प्रस्तावना—
नदीहरुसँगको प्रेम
हिमाल, बोटबिरूवा र किटपतङ्हरुसँगको प्रेम ।
भावुकतावश,
पृथ्वीको नक्सालाई अँगालोमा राखेर
प्रकृति रक्षाको कसम खाएको पनि हुँ ।
पुस्तौँदेखि बसेको बस्तीलाई
बाघ संरक्षण क्षेत्र तोकिदिएपछि
विस्थापित भएको हाम्रो परिवार
रोहिणी खोला किनारको
झिँगटीको टहरामा ओतिएको हो ।
कालन्तरमा त्यो विस्थापन
वातावरण जोगाउने
अभियानको एउटा विम्ब बनेर
छापा र टिभीमा छाइरह्यो ।
त्यसकै फोटो र प्रतिवेदन लेखेर
सरकारी अधिकारी र एनजिओकर्मी
वातावरण संरक्षकको पगरी गुथिरहे ।
घोषणासभाको उज्याले निभ्दै गएपछि
अँध्यारो यथार्थले
मलाई एकाएक हुत्याइदियो
आफ्नै झुपडीको अशान्त सन्नाटामा ।
पोहोरको अत्यासलाग्दो बर्खाले
बगाएको घरको पाखो अझै सम्हाल्न बाँकी थियो
घरको त्यही पाखोमा गुँड बनाएको गौथलीले
उही बेला बदलेको हो आफ्नो ओत
अविरल पानीबाट ओतिने उपाय नभएपछि
छिमेकी घरमा सरेको हो घरको बिरालो पनि
छेउ खाँबो नजिक माटोको दरबार बनाएका कमिलाहरु
निरूपाय भएपछि सुकेका पात र हाँगामा तैरिएर
अड्कल गर्नै नसकिने ठाउँको यात्रामा निस्किएका हुन् ।
बस्, घर रूँगेर बसिन् मेरी बुढी आमा
जो न तैरिएर बाढीमै बग्न सकिन्
न ओत खोज्दै जान सकिन् अर्को मुकाम
यो पृथ्वीमा कीटपतङ्ग हुनुभन्दा
गरिब हुनु ठुलो अपराध रहेछ
सातसमुद्रबाट चराहरु मनमौजी आउजाउ गर्दा
मान्छेबिना लालपुर्जा न एक बित्ता वरपर सर्न सक्छ
न नागरिकता र पासपोर्टबिना
आफै पसिना बगाएर खान्छु भन्न सक्छ ।
दिनभर घोषणसभामा
हिमाल पग्लिएकोमा दुःख मनाउ गरियो,
समुद्री सतह बढ्ने चेतावनीयुक्त प्रतिवेदन पढियो,
बाटो र पुलको क्षतिको आकलन,
धुवाँ र फोहरको सहरी समस्या,
र, बाघको बासस्थान सङ्कटबारे छलफल गरियो ।
सरकार र एनजिओका यी ठुला एजेन्डाको अगाडि
मेरा निजी दुःखका कथा सुनाउनलाई
समय हुने कुरै भएन ।
घोषणासभाको तामझाम उठेपछिको
अँध्यारो सन्नाटामा
एउटा प्रश्नले मलाई पछ्याइरह्यो–
खासमा किन डराइरहेछ मानिस प्रकृतिसँग ?
प्रकृतिलाई मानिसले नै जोगाइदिनुपर्ने हो र ?
आखिर, कसबाट खतरा छ पृथ्वीलाई ?
न बाढीले पानीको एक बुँद घट्ने छ
न पहिरोले माटोको एक पसर बिलाउने छ
आफैभित्र ज्वालामुखी हुर्काइरहेको पृथ्वीलाई
तापक्रम बढ्नुको के डर भो र ?
मैले प्रेम घोषणासभाका मान्छेहरु सम्झिएँ
र उनीहरुका आँखामा जुन भाव पढेँ
त्यो प्रेम हो भन्ने कत्ति लागेन ।
लोभका पिण्डजस्ता हाडछालाको शरीरमा
टक्लक्क अडिएका आँखाहरुमा
आफ्नै कृत्यले निम्त्याएको भय थियो ।
पापका कलिङ्गमा ठडिएका मान भत्किँदै गरेका दृश्य—
गरिबका आँत सुकाएर सजाइएका फोहराहरु —
गाउँलेका गाँस खोसेर ठडाइएका दरबारहरु —
चर्कने, भत्कने वा डुब्ने यिनै त होलान् ।
पृथ्वीलाई कसको डर ? केको हतारो ?
भत्किएपछि समुल
फेरि बौरिने छ आफ्नै लयमा ।
ओजोनको विनाशले तर्सिने को हो र ?
म त नाफाखोर शासकहरुकै सासमा देख्छु
स्वार्थको चिसो धुवाँ ।
मैले आफ्नै प्रेम प्रस्तावना संसोधन गर्न चाहेको छु—
पृथ्वीलाई के जोगाउँछौ ?
सक्छौ जोगाउ आफैलाई
आफ्नै लोभ र अपराधबाट ।


