दिव्य गिरी

टल्किन्छन् सुनझैँ बिहानीपख हिमालका शिखर
झल्किन्छन् चाँदीझैँ दिनमा तिनै हिमालका लहर
नाच्छन् आई मयुर, डाँफे वनमा डुलेर चारैतिर
फुल्छन् गुराँस फूलहरु वनमा सौन्दर्य फैलाएर ।

गाउँछन् कोइली गीत वनमा वसन्त आयो भनी
छल्किन्छन् खुसीमा पर्यटकसँगै फेवा र रारा पनि
देखिन्छन् वनका पखेराहरुमा झर्दै गरेका छहरा
भेटिन्छन् भिरपाखाहरुमा उत्तिस र पहरा ।

म गाउँछु गीत सधैँ विजयको टेकेर सगरमाथा
म लाउँछु प्रीत मिलनको पढेर वीरका गाथा
आउँछन् पाहुनाहरु कति कति लिएर खुसी मन
गर्छन् स्वागत उनीहरुलाई गुराँस फुल्ने वन ।

बग्छन् कलकल मेची महाकाली यै धर्तीको छातीमा
झर्झर झर्छन् झर्नाहरु कति कति यै धर्तीको काखमा
मेरो देश सानो छ तर विश्वमै प्रकृतिको सुन्दर धरा
यहीँ आएर नाच्दछन् स्वर्गका सारा तिनै अप्सरा ।

Facebook Comments Box

Similar Posts