हरि आत्रेय
(मध्यपुरठिमी, भक्तपुर)

प्राणीमा सर्वश्रेष्ठ हामी
जिजीविषाका लागि
सृजनाको होडमा छौँ
उन्नति र प्रगतिको सीमा खोज्दै
सुखी र सम्वृद्ध जीवनको दौडमा छौँ ।

कंक्रिट महलको रहरमा
भव्य सहरको खोजीमा छौँ
गुड्ने र उड्ने सवारी आवश्यकतालाई
विलासितामा बदल्दै छौँ
प्राकृतिक उपयोगमा भन्दा
कृत्रिममा रमाउँदै छौँ
वध गर्दै प्राणीको हैकम जमाउँदै छौँ ।

बौद्धिक सक्षमताले
नवीन औद्यौगिक क्रान्ति गर्यौं
जीवजन्तुलाई कब्जामा राख्दै
इकोसिस्टमलाई बिगार्यौं ।

प्रकृतिलाई जबरजस्त कृत्रिममा परिणत गर्दा
जलवायु मडारिएर
अनावृष्टि, अतिवृष्टिका कारण
भूक्षय र बाढीपहिरोले
जिउने आधारलाई जोखिम बढाएको छ
ओजोन तहलाई क्षयीकरण गर्दै प्रदूषणले
हजारौँ रोग निम्त्याएको छ ।

हामी बुज्रुकको आश्रित खुसी
प्रकृति र पर्यावरणमा अडेको छ
त्यसैले,
हाम्रो उत्तरदायित्व
प्राकृतिक संरक्षण र संवद्धर्नमा बढेको छ ।

जुटौँ,
हातेमालोमा जुटौँ
औद्योगिक प्रणालीलाई व्यवस्थित गर्दै
ओजोन तह जोगाऔँ
फोहोरलाई मोहोरमा बदल्दै
स्वास्थ्यप्रति सचेत रहन
जैविक कृषि प्रणाली अपनाऔँ ।

प्रकृतिको समुचित उपयोग गरेर
इकोसिस्टमलाई जीवन्त राखौँ
प्राणीको जिउने अधिकार सुरक्षित गर्दै
प्रकृति र पर्यावरणको संरक्षण गरौँ ।

Facebook Comments Box

Similar Posts