प्रेम वली

पार्टीकोे कार्यकर्ता बनेपछि
प्रशिक्षण लिन पार्टीप्यालेसमा गइयो
टनाटन झोलेहरु देखेर आफै दङ्ग भइयो ।

बडेमानको भुँडी तेर्साउँदै बडे नेता आए
भुँडी नै छोप्पिने गरी सय किलोको माला लाए
सानबानका साथ सोफामा आसन ग्रहण गरे
आसन ग्रहणपछि यति लामो भाषण गरे ।

भाषण सुरू गर्दै भने
देख्नुभो नेता बनेपछि कस्तो सम्मान पाइन्छ
तर ख्याल गर्नुपर्ने कुरा
नेता बन्न हामीमा के के गुण चाहिन्छ ।

हेर्नुस्
नेता बनेपछि
हामीले पा’को जस्तो महल पाइन्छ
देश विदेश उपचार गर्न जाइन्छ
मन्त्री–प्रधानमन्त्री खाइन्छ
मन्त्री पद फुस्के पनि के भो र ?
सरकारी गाडी सधैँ चढ्न पाइन्छ ।
यति भए तपाईंहरुलाई अरु के चाहिन्छ ?

छोराछोरीलाई सरकारी कोटामा
डाक्टर इन्जिनियर बनाइन्छ
तारे होटेलमा सित्तैमा जन्मदिन मनाइन्छ
अहिले तपाईं नाङ्गोबुङ्गो जे भए पनि के पिर गर्नुहुन्छ ?
नेता बनेपछि रातारात
तपाईं नि अरबपतिमा पर्नुहुन्छ ।

नेताले
कानका भुत्ला जुरूक्क जुरूक्क उखेलेर झार्दै थे
भाषणले सबलाई उचालेर बुरूक्क बुरूक्क पार्दै थे ।
ओठमुख सुकेछ क्यारे
एक गिलास पानी ताने
र एक घँैटो भाषण हाने ।

हेर्नुस्
अघि मैले भनेको थेँ नि
नेता बन्नलाई के के गुण चाहिन्छ
अब सुन्नुस् त्यस्तो गुन के केमा पाइन्छ ।

तपाईं सभासद् भएपछि
युवकले युवतीसँग डेटिङ गरेजस्तो
व्यापारीसँग तपाईंहरुले सेटिङ गर्नुपर्छ
सेटिङ गरेर कमाएपछि
पैसो ल्याएर हामीलाई पनि भेटिङ गर्नुपर्छ
त्यसो गरियो भने तपाईंको नाम मन्त्रीमा पर्छ
मन्त्रीमा परेपछि
भन्सार र पुलिससँग मिटिङ गर्नुपर्छ
रातारात यताको माल उता उताको माल यता गरेर
देश र जनतालाई चिटिङ गर्नुपर्छ ।

तपाईंहरुले अब सत्तरी करोड हैन
सत्तरी अरब झ्वाम पार्नुपर्छ
हाम्रो पार्टीको सातै पुस्तालाई तार्नुपर्छ ।

सिसमहलमा बसेर राजकीय भुजा खानुपर्छ
खरब खरब बोकेर विदेशी बैँकतिर लानुपर्छ
विकासलाई पैसो कमाउने मेसिन बनाउनुपर्छ
आफूले त्यसमा अरब अरब झ्वाम्म पारे पनि
जनतालाई विकास आयो, विकास आयो भनाउनुपर्छ ।

भन्सारमा ट्याक्स छलेर सुनको हात्ती छिराउनुपर्छ
जनतालाई चाहिँ आफ्नै बारीमा आची गरे पनि
त्यसको कर तिराउनुपर्छ
पहिले आफू बन्नुपर्छ
अनि नातापाता बनाउनुपर्छ
देश त आज नबने भोलि बन्छ
भोलि नबने पछि बन्छ
फेरि बनेन भने पनि कसले के भन्छ ?
यति गर्न सक्नुभयो भने
तपाईं पनि मजस्तै महान् नेता बन्नुहुन्छ
नत्र देख्नुभएकै छ
यस्तो गर्न नसके कस्तो नेता बन्नुहुन्छ ?
भाषण सकिपछि
ठुलै जयजयकार घन्किरह्यो
मेरो दिमागचाहिँ
देश यसरी पो नबनेको रहेछ भनी रन्किरह्यो ।

Facebook Comments Box

Similar Posts