लक्षिमा उपाध्याय
(विश्वनाथ, असम, भारत)
चिन्तित मन निराश अनुहार
आडभरोसा खोज्दै
एउटी अबला जननी
अवहेलित, निन्दित, तिरस्कृत
सन्तानहीन हुनुको अदृश्य अपराध उनको
दयामायाहीन घृणित व्यवहार आफ्ना पुरूषको ।
छरछिमेक र भद्र भनाउँदो
विज्ञान गन्हाउँदो यहीँ समाजको
अचम्म विभ्रंश मनको विभ्रम
सन्तान नहुनु मातृत्वको पीडामाथि
जिउने स्वतन्त्रता लुछिने व्यवहार ।
पशुतुल्य देखिने चिल्ला छालाले
बेरिएको मानिसको विचित्र अनुहार
महिषासुर बरू हाकाहाकी देवीको
पाणि प्रार्थी थियो
सन्मुख समरमा मर्यो ।
तर भद्रताको मखुन्डोधारीहरु
देवताको मखुन्डो मारिचको चरित्रले
बिनाआगो जलाइरहेछ
निर्दोष रमणीलाई घृणाका दाउरा पोलेर
चित्कार हुन्छ निराधार
रहन्छ वेदना दुःख र पीडाहरु
उसको जीवनको एक मात्र आधार ।
उसले त राम्रो कार्य हेर्नै नहुने
पुण्य कर्ममा सामेल हुनै नपाउने
दूषित आँखाहरुले
परपरै धपाउने
यता फेरि हामी त सभ्य पो भयौँ त
भन्न पनि नछाडने ।
पुरूषप्रधान शिक्षित समाज हाम्रो
दोषगुण नकेलाई दोषी मात्रै ठान्ने
न्यायको पल्ला सधैँ कोल्टे
जन्मदाता मातृपितृ विवश
मुकदर्शक पीडित छोरीको दुःख पिउने ।
बेसहारा आफन्तहरुबाट
मौका परे
सियालहरु पनि उसलाई देखेर
मानौँ गिल्ला गर्न बिर्सिंदैनन्
वेदना पोख्न
उनले आफ्नो हितैषी खोज्छिन्
समाज र आफन्तहरुदेखि कोसौँपर
अन्ध कुसंस्कार मासिने विवेकको दियो बालिने
विज्ञानको नयाँ आविष्कार आउने आशामा उनी
टोलाइरहेकी छन्
तर हिम्मत नहारी
जन्ममृत्युको ध्रुुवसत्यलाई अँगाल्दै
धरती हुँ
जननी हुँ
गतिशील समयको निरन्तर यात्रामा
परिवर्तनको एक हुरीबतासलाई पर्खेर
खुसीको सूर्य उदाएको हेर्न
हरियाली वसन्तको
आगमनलाई पर्खिरहेकी छिन् ।