मुरारि सिग्देल
(गोकर्ण, काठमाडौ)
आउनुहोस् पर्यटक महोदय !
आँखाले हेर्न भ्याएजति
उत्तरका हिमशृङ्खला
हेरिहाल्नुहोस् ।
कलाको राजधानी कान्तिपुर
काष्ठकला, मूर्तिकला
चोक र डबलीमा
उदाएको वृद्ध बाजेबज्यैको मुस्कान
हेरिहाल्नुहोस् ।
हरियो जङ्गलभित्र
हात्तीहरु छन्
गैँडाहरु छन्
चराहरु छन्
सिमसार तालहरु छन्
यी तालहरुमा चर्न
साइबेरियादेखि चराहरु आउँछन्
हेरिहाल्नुहोस् ।
पर्यटक महोदय !
म हरियो फाँट हुँ
सम्पूर्ण नेपालीको अन्नभण्डार
हेरिहाल्नुहोस् ।
अबको केही वर्षपछि
कालापत्थर हुने छन् हिमालहरु
काष्ठकला चोइटिएर
उप्केर,
घोटिएर
खुइलिएर जाने छन् ।
पापीहरु बढ्ने छन् ।
धेरै पाप गर्ने भक्तहरु बढ्ने छन्
धेरै पूजाले, अबिर केसरीको धेरै प्रयोगले
जीवन्त कला
अमूर्त कला बन्ने छ,
लिच्छवि कालीन सम्पदाहरु
चोक र डबलीसँगै
अस्ताउने छन्
वृद्ध बाजेबज्यैहरु !
जङ्गल कङ्क्रिटको जङ्गलमा
रुपान्तरण हुने छ ।
बस्तीहरु जङ्गलतिर धकेलिने छ ।
जङ्गलसँगै हराउने छ, पर्यावरण ।
हराउने छ
घाँसहरु
मृगहरु
बाघहरु
हात्तीहरु
गैँडाहरु
सुक्ने छन् तालहरु
हराउने छन्
माछाहरु
आउने छैनन् साइबेरियादेखि चराहरु
फाँटहरु कङ्क्रिट थुप्रेपछि हरियो हुन छाड्ने छ
आयातबाट आफ्नो भण्डारमा भर्नुपर्ने छ ।
मान्छे माटो बन्ने छ ।
उर्वर हुने छैन माटो
विषाक्त विम्ब मात्र हुने छ ।
पर्यटक महोदय !
भविष्यमा
हेर्न बाँकी केही हुने छैन ।
अहिल्यै हेरिहाल्नुहोस् ।
सुन्नुहोस्, त पर्यटक महोदय !
भोलि हाम्रा सन्ततिले
के देखाएर
खालान् ?


