कृष्ण बाउसे
एक शताब्दी नाघेछ –
गहिरो कुवाकी स्वामिनीसँग तिम्रो सहवास भएको
म जन्मेको/मैले नै तिम्रा अनेक काममा साथ दिएको
अनि तिमीले साँच्चै नै सुखको जीवन जिएको ।
झन्डै आधा शताब्दी भएछ –
तिमीमा अतिशय भोगको तृष्णा जागेको
तिम्रो बुद्धि र विवेकको बिचमा पर्खाल लागेको
तिम्रै आदेशमा मात्र चल्ने मेरा पङ्खहरुले
जल, जमिन र आकाश ढाकेको
अनि वसुन्धराका पहरेदारहरुले
सजाय दिन तिम्रो होइन मेरो टाउको ताकेको ।
छक्क पर्छु सुनेर आरोप कि –
मैले नै माटोमा बिख छरेको रे ! मैले नै रूखको प्राण हरेको रे !
नदीमा म आफै झरेको रे ! महासागर मैले नै कब्जा गरेको रे !
पानीमा तैरिने सूक्ष्म वनस्पतिलाई मास्ने ठहर मैले नै गरेको रे !
चारो हुँ भन्दै भोका माछाको उदरमा म आफै नै छिरेको रे !
छैन, मेरो देहमा मरेपछि आफैलाई सडाउने रसायनसम्म छैन
म जल्दा पनि सहजै खरानीमा रुपान्तरण हुन सक्तिनँ
तर सेवामै जीवन अर्पंदा पनि मलाई मिलेको छ यस्तो श्राप
कि हजारौँ वर्षसम्म तड्पिरहन विवश हुँदै छ मेरो कङ्काल !
तर गर्नै के सक्नु र जाबो प्लास्टिकले ! मात्र गर्दै छु यौटा अनुरोध –
‘ए मेरा सृष्टिकर्ता प्रभुहरु !
मलाई दोषी करार गरेर समय बर्बाद गर्नुसाटो
हेरिहाल ऐनामा, जहाँ देखिने छ अपराधीको सक्कली अनुहार !
जसलाई सजाय दिन त सक्दैनौँ नै तिमी – त्यो म नै भोगिरहुँला
तर अब जसरी पनि भत्काउनै पर्छ तिमीले
तिम्रो बुद्धि र विवेकको बिचमा लागेको अजङ्गको पर्खाल !’


