शम्भुप्रसाद भट्टराई
(राधिका सेकेन्डरी स्कुल, उर्लाबारी, मोरङ)

(उपजाति छन्द)
सानो छ बालो तर बात बुझ्छ
भविष्यका खातिर खेल्छ, कुद्छ
तोते छ बोली र त भित्र छुन्छ
हरेक व्यक्ति परिपूर्ण हुन्छ ।१।

खाँदै र खेल्दै जब बढ्न थाल्छ
आफ्नो खुसीले तब पढ्न थाल्छ
इच्छा थुपारे बिनसित्ति रून्छ
हरेक व्यक्ति परिपूर्ण हुन्छ ।२।

लड्दै र बढ्दै वय टेक्न थाल्छ
दुवै पखेटा सहजै ऊ हाल्छ
भविष्यका खातिर बुझ्छ, गुन्छ
हरेक व्यक्ति परिपूर्ण हुन्छ ।३।

समात्छ मान्छे व्यवहार खास
भत्किन्छ इच्छा मरिजान्छ आस
संघर्ष गर्ने अझ नम्र हुन्छ
हरेक व्यक्ति परिपूर्ण हुन्छ ।४।

छाड्दैन मेलो र कठोर हुन्छ
संघर्ष गर्दै युगसार बुझ्छ
यो जिन्दगीको लय–ताल तुन्छ
हरेक व्यक्ति परिपूर्ण हुन्छ ।५।

संसार हो सागर तर्नुपर्छ
डुङ्गा सधैँ बन्दिल गर्नुपर्छ
आफ्ना नराम्रा सब प्वाल थुन्छ
हरेक व्यक्ति परिपूर्ण हुन्छ ।६।

बुढो भई बस्दछ हातपाउ
लुलो हुंँदा घट्छ अवश्य भाउ
सम्मान पाएपछि त्यो नुहुन्छ
हरेक व्यक्ति परिपूर्ण हुन्छ ।७।

Facebook Comments Box

Similar Posts