प्रकाशचन्द्र निङलेकु
उहिले उहिले जिजुबाजेको पालामा
सती प्रथा थियो रे
समाजले बनाएको
समाजकै भुमरीमा
जिउदै जल्नुपर्थ्यो रे सतीहरू
पतिको मृत्युमा
बाजा-गाजा बज्थे रे आर्यघाटमा
सतीको चित्कारहरू कतै विलीन हुन्थ्यो
हावामा
मलामीहरु वरिपरी टुलु-टुलु हेरिरहन्थे ।
अहिले मेरो पालामा
उस्तै जलिरहेछन् सतीहरू
दाईजोको नाममा
विवाहको नाममा
तर मुकदर्शक छ आधुनिक समाज
मायाको भुमरीमा
विश्वासको भुमरीमा
जिउदै जलिरहेछन् सतीहरू
मोबाइल, क्यामरा तेर्सिन्छन् मृत्युघाटमा
सतीको चित्कारहरु त्यतै विलीन हुन्छन्
हावामा
अनि आधुनिक मलामीहरु
वरिपरी टुलु-टुलु
हेरिरहन्छन् ।