विनोद खनाल

पुगिन्न लक्ष्यमा छिटो घुमेर गइसकेपछि
हुने छ फर्किन कठिन छुटेर गइसकेपछि ।

जलाइराख्नू है दियो सधैँ तिमी रहेसम्म
नगर्नू शोक यादमा गुमेर गइसकेपछि ।

लिने त हो मजा यहाँ युवा उमेरमा हुँदा
हुँदैन नै कुनै मजा उमेर गइसकेपछि ।

नमान्नू लाज व्यर्थमा दिने छु प्यार यो सधैँ
छ के नि शेष प्यारमा चुमेर गइसकेपछि ।

बचाइराख्नू यो खुसी रमाउँदै सदा तिमी
रहन्न बास फूलमा सुकेर गइसकेपछि ।

बुझेछु बल्ल जिन्दगी रहेछ काँचझैँ सदा
चुरा भनेर पो चिनेँ फुटेर गइसकेपछि ।

विशुद्ध सोचले तिमी सधैँ कदम बढाउनू
न बाँच्न सक्छ देह नै जलेर गइसकेपछि ।

Facebook Comments Box

Similar Posts