विमल भौकाजी

लालीगुराँस बनेका छन् अक्षरहरू
हिमाल बनेका छन् अक्षरहरू
अक्षरहरू –
चरा बनेका छन्
बुद्ध बनेका छन्
तर जति जे बने पनि
मान्छे बनेका छैनन् अक्षरहरू ।

समातेर बलजफ्ती अक्षरहरूलाई
म पढ्नु खोज्छु मान्छेको कविता
अक्षरहरू
भागेको भाग्यै
लुकेको लुक्यै
जब भेट्छु
विभाजित पाउँछु म
बन्दुक बन्दुकमा क्षतविक्षत अक्षरहरूलाई ।

सायद अक्षरहरूले
मान्छेसँग नाता तोड्दै छन्
सायद हराइरहेछ
मानवीय परिभाषा, अक्षरहरूको 1

सोचमग्न छु,
अक्षरहरूलाई मिलाएर
के अब म पढ्ने सक्दिन मान्छेको कविता ?

प्रकाशित २०६३ असोज अंक(शब्दाङ्कुर साहित्यप्रधान मासिक)

Facebook Comments Box

Similar Posts