राजेश चोच्छे
(धुलिखेल, काभ्रे, हाल: दुबई, युएइ)

ओ प्रिया
हिँड्दाहिँड्दै जीवनको गोरेटोमा
असत्य उकालीओराली गर्दै जाँदा
भुलवश तिम्रो बैँस पनि कतै
ठेस लागेर छताछुल्ल पोखिन सक्छ
त्यसैले आफ्नो यौवनको रक्षा गर
मनमा दृढ अठोट लिएर हिँड
उद्योग रोप परिश्रम सिँच
उत्पादन स्वतः लहलहाउने छ ।
चन्द्र दूर अवश्य छ
अप्राप्य किञ्चित होइन
तर आज मेरो देश
बैसाखीको सहारामा
चन्द्रमाको दौडाहामा निस्केको छ
हामी जनता
धूपदीप नैवेद्य बोकेर
अब्बल हुने कामना गर्दै
ढुङ्गा पुजिरहेछौँ ।
खै किन हो अचेल
पशुपतिमा साँढेहरु
अचाक्ली उग्र्याउन थालेझैँ लाग्छ
बौद्धनाथको स्तुपामा
परेवाहरु नघुरेको धेरै भयो ।
तिमी लड्दा ऐँसेलुको घारीमा
बनमारा निचोरेर लाइदिँदा तिम्रो घाउमा
लज्जावती झारझैँ
तिमी खुम्चिएको त्यो क्षण
अहा ! कदापि भुल्नु नपरोस् ।
कोसी फुटेर
गाउँ सोत्तर पारेका बेला
कर्णाली दुखेको थियो
गण्डक रोएको थियो
सिङ्गो देश शोकाकुल थियो
केवल तिमी थिएनौ
पछि थाहा पाएँ
तिमी त आकाश चिथोरेर
रूँदै रहेछौ
कोसीका ताता बगरले
अझै तिमीलाई सम्झिरहन्छन् ।
साँच्चै प्रिया
भोको पेट र नाङ्गो आङ
औधी कुरुप देखिँदो रहेछ
किन तिमी शिष्टताका कुरा गर्छौ
किन तिमी सभ्यताका कचकच गर्छौ
पहिले गाँस, बास र कपासको जोहो गर
बाँकी त हुँदै गर्छ ।
त्यो पारि बनमा
भुक्के चप्पलमा बजाइएका परेडका डोबहरु
अझै आलै छन्
त्यसैले प्रिया
यो शालिग्रामको देश
मेरो गण्डकीले फेरि रून नपरोस्
यो गौतम बुद्धको देश
नेपालआमाले फेरि
बुद्ध मरेको
मुचुल्का उठाउन नपरोस्
यो सोझा नेपालीको देश
हाम्रा छोराछोरी
किताब च्यापेर पाठशाला जाँदा
फेरि पनि
ग्रिनेड र सकेटमा ठेस नलागोस्
यो शान्तिको देश
मेरी छोरीको पूजाथालीबाट
फेरि
बारूदको गन्ध नआओस् ।

Facebook Comments Box

Similar Posts