भदौ २२, झापा। साहित्यकार नरबहादुर दाहालको ८६ वर्षको उमेरमा निधन भएको छ । एक वर्षदेखि घाँटीको क्यान्सरको उपचार गरिरहेका दाहालको शुक्रबार नक्सलवारीमा निधन भएको हो ।
सन् १९५० को दशकमा नेपाली साहित्यमा रोमान्टिक धारा भित्र्याउने साहित्यकारहरु दान खालिङ र वीरेन्द्रसँगै नरबहादुर दाहाल पनि एक थिए । उनका समकालीन खालिङ र वीरेन्द्र यसअघि नै बितिसकेका छन् ।
काँकडभिट्टा पारिको राँगापानी क्यान्सर अस्पतालमा दाहाल उपचाररत थिए । शुक्रबार साँझ नक्सलवारीस्थित साइँला छोराको घरमा उनको निधन भएको दाहालका छिमेकी कवि राजा पुनियानीले जानकारी दिए ।
सन् १९३७ सेप्टेम्बर ५ मा कालेबुङमा जन्मिएका दाहाल दार्जिलिङको राजनीतिक दल गोर्खा लिगमा समेत सक्रिय थिए । उनी लिगको मुखपत्र ‘गोर्खा’का सम्पादक समेत थिए । उनका उन्माद (कविता, १९५८), वरपिपल (कथा, १९६०), मध्यरातको तारा (उपन्यास, १९६५), तिम्रो पिरती नै मेरो गीत (कविता, १९७०) प्रकाशित छन् । उनले ‘गोरखा खबर कागज’ का सम्पादक पादरी गंगा प्रसाद प्रधान, गोर्खा लिगका संस्थापक डम्वरसिंह गुरुङ र नरेन्द्र कुमाईको जीवनी पनि प्रकाशन गरेका थिए ।
कोलकातास्थित अगमसिंह गिरी संस्थानबाट प्रकाशित ‘परदेशी’ का सम्पादक साहित्यकार विकास कार्कीले दाहालको निधनले भारतीय नेपाली साहित्य क्षेत्रले अभिभावक गुमाएको प्रतिक्रिया दिए । अघिल्लो वर्ष परदेशीको १९ अंकलाई दाहाल अभिनन्दन विशेषांकको रुपमा प्रकाशित गरिएको थियो ।
दाहालका एक छोरी र चार छोरा छन् । उनको शनिबार सुकुनामा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।