सागर फुयाल
(बर्लिन, जर्मनी)
कमलहरू फुल्छन्
कमलहरू फक्रिन्छन्
कमलहरू फक्रिएकै कारण
कमलहरू मुस्कुराएकै कारण
हिलोका पोखरीहरू बढाउदै जानुपर्छ
हिलोका पोखरीहरू थप्दै जानुपर्छ
यसो भन्नु
कपटका मिठा आदर्श सिवाय अरू केही होइनन्।
फुलेका कमलहरू
हिलोमा मोहित हुँदा हुँदै पनि
फक्रेका कमलहरू
हिलाम्य चुनौतीका अदम्य साहस र उत्कट अभिलाषाको
प्रतीक हुँदा हुँदै पनि
कमल फुल्न र फुलाउन
माटो निर्विकल्प हुनुपर्छ हिलो होइन !
कमल त
लहराउने पानीमा पनि फुल्न सक्छ
पानीको मौन स्पर्शमा पनि मुस्कुराउन सक्छ
आफ्ना फैलिएका जराहरू यो दुनियाँलाई देखाउदै
सगर्व भन्न सक्छ
हेर मेरा संघर्षका कन्द जडहरू
हेर म बढ्नैपर्छ भन्ने मेरो अर्जुनदृष्टि
अनि पानी बाहिर निस्किएर
हावामा खेल्दै, निलो आकास छुने
मेरा अभीप्साहरू !
त्यसैले, कमल फुल्नको लागी
कमल फुलाउनको लागी
हिलो पोखरी खोज्न बन्द गरौ अब
हिलो पोखरी खन्न बन्द गरौं अब
केही थान कमल फुल्न र फुलाउन
धेरै धेरै हिलोका पोखरीहरू बनि सके
कहिलेसम्म केही थान कमलका फूलहरू
फुल्न र फुलाउनका लागि
हिलोका पोखरीहरू बनाइराख्ने ?
हिलो भई निस्सासिन अभिसप्त पोखरीहरू
पानीले भरिएर जीवन्त हुनै पर्छ
अब केही थान कमल होइन
कमलका हरेक बीजले
कमलमय बन्न पाउनुपर्छ
हिलाम्मे पोखरीमा धाप होइन
लहर नाच्ने तलाउ हुनु पर्छ
पानी भित्रको आफ्नै जरा हेर्दै
कमल मुस्कुराउनुपर्छ।
जराहरूलाई पनि गर्व होस् न
जरा हुनुमा !
कमललाई पनि गर्व होस् न
त्यही जराको कमल हुनुमा !
हेर्नेलाई पनि गर्व होस् न
पानीभित्र फैलिएका जरा देख्दा;
अनि तैरिएका सुन्दर कमल देख्दा !