१. आँसु

आँसु कसैको पीडामा झर्दा
दुःख हुँदो रहेछ
आँसु कसैको खुसीमा झर्दा
सुख हुँदो रहेछ

आखिर आँसु भन्नु नै
सुखदुःखको मेल रहेछ

आँसु तिमी कति महान् छौ
मनभित्रका कुण्ठाहरुमा
तपतप झरिदिन्छौ
झम्लङझम्लङ पखाली
विचारको डोरीमा
सुकाइदिन्छौ

दुःखमा झर्दा
मनका छटपटीहरुलाई
शान्त बनाइदिन्छौ
सुखमा झर्दा
मनका खुसीहरुलाई
स्वतन्त्रताको आँचलमा ढाकिदिन्छौ

आँसु कसैको पीडामा झर्दा
दुःख हुँदो रहेछ
आँसु कसैको खुसीमा झर्दा
सुख हुँदो रहेछ

आखिर आँसु भन्नु नै
सुखदुःखको मेल रहेछ

२. टुक्रिएको आकाश

सीमाहीन आकाशमा
काला बादलहरु मडारिएपछि
आकाश पनि टुक्रिने रहेछ

नदी जति लामो भएर बगे पनि
दोभानमा पुगेपछि
आफूलाई बिर्सिने रहेछ

छातीभरि प्रेम बोकेर
उभिएको पहाडको
हृदयबाट पहिरो जाँदा
आफ्नै मन पनि कहालीलाग्दो
अवस्थामा हाम फाल्दो रहेछ

उज्यालो प्रकाश
रूखको काप काप
हाँगा हाँगाबाट छिर्दा
एउटै प्रकाश पनि
विभिन्न अवस्थामा
विभक्त हुने रहेछ

उनीहरुको प्रेम
आँखाको आकाशमा उभिँदा
विभक्त हुँदै हुँदै
आँसुमा झरेछ

Facebook Comments Box

Similar Posts