श्रीराम दाहाल
दौड, उफ्र, नाचिरह मृगशावकहरु,
छुनुमुनु भागिराख/चरिराख लुम्बिनी–वनका
तिम्रो सजगता– सतर्कताभित्र बाट नै,
बुद्धत्वको ‘सजग ध्यान’ पुनव्र्याख्या भएको हो,
त्यही कला–चेत अक्षर–शब्द–वाक्यमा भाव–विचार अन्तर्दृष्टिमा टिप्न,
सौन्दर्य स्पन्दन स्पर्श गर्न
तिम्रै पछि पछि दौडिरहेछु
नाच नाच नाचिराख मयूर,
निलो पाश्र्वमा जन्मिने रङहरुको
उहापोह निलो जीवन–दृश्य
निहार्दै हिँडिरहेछु
निलो रङ शिशिरको
ठिहीभित्र पहारिलो घाममुनि
पङ्ख उघारेर चल्न थाल्छ नाच,
तब झुम्मिन्छन्– पोथी मयूरहरु,
सृष्टि निरन्तरताका लागि
घट्छ–समागम एक सङ्घटक विन्दु,
जहाँबाट निसृत हुन्छ परमानन्दको धारा,
सुख र सास्तीको विश्राम इन्द्र धनुषका सप्तरङ,
सारा सारा बिस्तार निलो रङभित्रको लीला,
सङ्कुचनको यतिबेला विचित्रता
शब्दरुपमा टिप्न खोजिरहेछु ।
घडा बोकेर थुतुनोमा नदी बगरमा
फराकिला बालुवाका थुम्का थुप्राहरुमा
ध्यानस्थ– पृथ्वीका अन्तिम डाइनोसर घडियालहरु,
प्रेम–समागम र सम्भोगको
तिम्रो लीला भय र शालीनताको दिव्य,
भव्य–परम चित्र दिगम्बर रङ,
जीवन–जगत्–कविताको
घाम–पानी र प्राणको चलखेल
भइरहेको अक्षर भावको तस्बिर
घडियाल चलिरहेछ
मन–मस्तिष्क–चेतनामा
छप्ल्याङछुप्लुङ ।
चलिरहोस् निरन्तर छुनुमुनु
दौडभाग र विश्रामको
लय निरन्तर निरन्तर ।