निमेष निखिल
(मकवानपुर, हेटौडा)
काँडा पाएँ त के भो फूल हुर्काएँ मैले
शाखा मर्यो त के भो मूल हुर्काएँ मैले ।
बाँच्न खोजें सम्बन्धको एउटा सेतु बनाएर
तिमीलाई आफ्नो ठान्ने भूल हुर्काएँ मैले ।
रोइनँ, समेटें सारा व्यथाका पत्रपत्रहरू
आफैलाई पीडा दिने शूल हुर्काएँ मैले ।
ढाँट्न सकिनँ कालोलाई कालै भनी चिच्याएँ
वरिपरि आलोचकहरूको हूल हुर्काएँ मैले ।
प्रकाशित २०६४ साउन अंक(शब्दाङ्कुर साहित्यप्रधान मासिक)