रीतादेवी प्रधान जोशी
(क्यालिफोर्निया, सनफ्रान्सिसको, अमेरिका)

आमा शब्द आफैमा अपरम्पार
समेटेको छ यसले सारा संसार
आमा तिम्रो माया, त्याग र ममताबाट
पृृथ्वीका जलचर, नभचर र थलचर
पाएका छन् सबले यो सुन्दर जीवन
तिम्रो पथप्रदर्शन र मार्गदर्शनबाट
भएको छ सन्तानको जीवन सार्थक ।

पृथ्वीलोकमा पुजिने भगवान्
भगवान्ले समेत पुज्ने आमा तिमी
आमा तिम्रो गर्भ महान्
भगवान् विष्णुले अवतार लिए
आमा तिम्रै कोखबाट
माता कौशल्याको गर्भबाट जन्मे राम
देवकीको गर्भबाट जन्मे कृष्ण ।

आमा तिम्रो महिमा अपरम्पार
पुज्छन् तिमीलाई सारा संसार
मातृ देवो भव भन्ने मूल मन्त्रबाट
हुर्किएका छौँ
अनि सिँचिएका छौँ
हामी सबै यसैबाट
आमा नै हुन्
धरती र जन्मभूमि
तसर्थ भन्छौँ हामी
जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी ।
आमा मेरो पुकार छ
तिम्रै आशीर्वादले यो संसार छ
सपना हाम्रो साकार छ ।

Facebook Comments Box

Similar Posts