इन्द्रकुमार श्रेष्ठ
दुनियाँले भोगिरा’को दुःख देख्न सकूँ
ती दुःखमा आँसु घोली सबै लेख्न सकूँ
अरु मान्छे टुलुटुलु हेरि मात्र रहे
तिनैजस्तो नबनूँ म साँच्चै कवि भए ।
बलै गर्छन् आफै खान आफै मात्र लाउन
अरुलाई मौकै नदी आफै कमाउन
कमाउन र रमाउनमै सारा दौडिरहे
तिनैजस्तो नबनूँ म साँच्चै कवि भए ।
फाइदा लिन यताउता चारैतिर डुल्ने
देखावटी काम गरेर घमन्डले फुल्ने
मानवता भुलीकन मक्ख परिरहे
तिनैजस्तो नबनूँ म साँच्चै कवि भए ।
मुखमा सधैँ राम ! राम ! बगलीमा छुरा
स्वार्थभित्र रमाएर धूत्याइँका कुरा
एउटै मान्छे सयौँ जिब्रा किन भइरहे !
तिनैजस्तो नबनूँ म साँच्चै कवि भए ।
जहाँ रोप्यो त्यहीँ फल्ने जहिले पनि हुने
अरुलाई कुहाउन पहिला आफै कुहुने
हाम्रा मान्छे सबै जना आलुजस्ता भए
तिनैजस्तो नबनूँ म साँच्चै कवि भए ।