शैलेन्द्र साकार

पाटनको कृष्ण मन्दिर र
त्यसको लम्बिँदै गइरहेको कालो छायाँ
उडिरहेको परेवाको आङमा खस्छ
चारो टिपेर निकै माथि उड्न तत्पर
परेवा झस्कन्छ
मन्दिरको मूर्ति झस्कन्छ
पाटन झस्कन्छ
काठमाडौँ झस्कन्छ
नेपाल झस्कन्छ ।

उदास साँझ छ, दीप छैन
ध्रुवकृष्ण दीप छैन ।

सिद्धिनरसिंह मल्ल आफै
पाटनको कृष्ण मन्दिरको
भत्कँदो भग्नावशेष
टोल्हाएर हेरिरहेछ
आफैले बनाएको फलामको चरो उडेर
नआउन्जेल आफू मरेको
नसम्झनू भनेर योगनरेन्द्र मल्ल
त्यहीँ कतै भन्न लागिरहेछ ।

फेरि एकपटक सम्पूर्ण पाटन
साँझको हाकु, छोइला र वासामा
हुक्का तान्दै तन्किरहेछ
तर त्यो दीप छैन जो यतै कतै
एकतमाससित बलिरहन्थ्यो
जीवनजस्तै बलिरहन्थ्यो
त्यो ध्रुवकृष्ण छैन, सायद चरा उडेर
कतै गइसक्यो ?
ध्रुवकृष्ण पनि गइसक्यो ?

Facebook Comments Box

Similar Posts