त्रिलोचन सुवेदी
(बाँसगढी ५, बर्दिया)
रहरसँगै यतै बस्दा हुन् त
एक हुल युवाहरु
हुटहुटीमै चलाउँदा हुन् त ती हात
देश बनाउने जग खन्न
झोलाभरि लुगाको ठाउँमा
भरेर राख्दा हुन् त सपनाहरु
श्रीमतीलाई बर्सौं कुराएजस्तै
यतै इलम गरेर कुरेर बस्दा हुन् त
समृद्ध देशको मुहार हेर्न
सायद ! देश बन्न थालिसकेको हुन्थ्यो ।
अघाएजस्तै गरी यो ठाउँमा बस्न
कुदिहाले केही हुल देशका आशहरु
त्यसैले त भोकाएका छन्
देशप्रेम र परिवारको प्रेमका लागि प्रवासहरु
देश बनाउने उमेरलाई देशले लखट्यो
या अभावले ?
देशको सुन्दरता हेर्ने ती आँखालाई प्रदेशतिर
देशले पठायो या महङ्खवाकाङ्क्षाले ?
जलस्रोतको धनी देशलाई
किन चलाइरहेको छ खाडीको पसिनाले ?
रातो गुराँसले सजाएको देशमा
बाटो कुरिरहेका श्रीमतीहरुको सिउँदो
किन पखालिरहेको छ खाडीबाट आएको रातै बाकसले ?
किन खोक्रो बनाएको छ परिवारको भविष्य
खाडीबाट भरिएरै आएको रातो बाकसले ?
किन हराउँदै छ आस ?
देश बन्छ भनेर
किन गुमाउँदै छन् विश्वास ?
देशमै भविष्य छ भनेर
घर यतै छ
परिवार यतै छ
हुर्काएको बैँस पनि यतै छ
बाआमाको बुढेसकाल यतै छ
बाआमाका हातका औँला समाउँदै
हिँड्न सिकेको बाटो यतै छ
सब थोक यतै छ
खुसी यतै छ
शान्ति यतै छ
पसिना त्यो खाडीमा किन बगाउनु ?
परिवार यतै छ
खुसी यतै छ
स्वदेश किन नआउनु ?
बनाएपछि नबन्ने के नै छ र ?
पसिना बगाएपछि नफल्ने के नै छ र ?
आफ्नो घर सुन्दर बनाउँदा कसले के नै भन्छ र ?
आऊँ तिमी एक इँट राख जगमा
म अर्को इँट थप्छु
हामीले बनायौँ भने देश अवश्य बन्छ भन्छु ।
देश बिगारे भन्नुभन्दा
देश बनाउँछु भनौँ
खाडीमा उमेर बेच्नुभन्दा
देशमै आउँछु भनौँ
देशमै कमाउँछु भनौँ ।
आउ एउटा देशप्रेमको कारखाना निर्माण गरौँ
जहाँ तिम्रा बाध्यताहरु खरिद गरिने छ
जहाँ तिम्रा सपनाहरु खरिद गरिने छ
जहाँ तिम्रा आवश्यकताहरु खरिद गरिने छ
र
दिइने छ आवश्यकताअनुसारको खुसी
सपनाअनुसारको प्रोत्साहन
बाध्यताअनुसारको प्रेरणा
र
बनाइने छ समृद्ध नेपाल सुखी नेपाली ।