महेशराज खरेल
(काठमाडौँ ३२, सहयोगीनगर, कोटेश्वर)
एउटा
नयाँ सन्देशको आशा
खोजिरहेछ मानिस
अस्ताएको दिनपछि पनि
बिहानीको लालसामा
जागृत भइरहेछ मानिस
मानिसले लडेर
उठ्न जानेको छ
धुलो टक्टकाउँदै
कुद्न जानेको छ
हिजो सम्झनाका लागि हो
आज कर्तव्यका लागि हो
भोलि कल्पनाका लागि हो
हिजो
आज
र भोलिको
संयोजन गर्नु नै
सफल मानिसको कला हो
मानिस आफ्ना
पुर्खाको जरा टेकेर
आफ्नो वर्तमानको
डाँठमा अडेर
भविष्यका
सन्तति फलाउन चाहन्छ
हाँगा हाँगामा
नसम्झ तिमी
यो एकत्वबिना पूर्ण हुन्छ
आंशिकताले थेग्दैन
भारी इतिहासको
सम्पूर्णतामा यो अडेको हुन्छ
नयाँ पन
नयाँ रङ
र सृजना कालिगढीको
यो नयाँलाई
पुरानोले गिज्यायो भने
पुरानोले
नयाँलाई छोपिदियो भने
नयाँ भनेर
फेरि पुरानै बिउ रोपिदियो भने
सम्झ
नयाँ बुझ्नलाई ढङ्ग पुगेन
पुरानो
र नयाँको भेद जान्नलाई ज्ञान जुरेन
तिमी हेर प्रकृतिमा
लामबद्ध
नयाँ पालुवा
पलाइरहेका छन्
पुराना पात झरेर
ओइलाइरहेका छन्
पत्करमा परिणत भइरहेका छन् ।
हो यही प्रक्रिया
प्राणी जगत्मा सबैको
यही हो स्वीकृति
सारा मानव जीवनको
चेतनाको जरो
गहिरो गरी अड्यो भने
भावको मुना
लहराउँदै बढ्यो भने
क्षितिज पनि
होचो देखिन थाल्छ
सगरमाथा चढ्ने आँट
र सामथ्र्य गड्यो भने
तिमी निष्ठा बोकेर हिँड
जीवनको बाटो
धैर्यको सामल साथमा लिई
परिणाम लहराउँदै झाङ्गिने छ
मिहिनेतका लहराहरुमा
सर्वत्र नवचेतनाको
नयाँ सन्देश दिई … !!!