तेजप्रकाश श्रेष्ठ
(प्रतिभाकुञ्ज, तीनथाना १५, चन्द्रागिरि, काठमाडौँ)
ग्वङ्गचुली !
चन्द्रागिरिको शिर
भालेश्वरको तपोभूमिमा
खोजिरहेछु म
जीवन
गुराँसको डाली डालीमा ।
गुराँस फुल्ने याममा
कङ्व्रिmट फुल्दै रहेछ
र विनिर्माण हुँदै रहेछ
जीवन चेत !
विनाश र विकासको क्रमभङ्गमा
काँचुली फेर्दै रहेछ
प्रकृति !
अपशोच !
बडाराजा पृथ्वीलाई
ठिङ्ग उभ्याएर
चोर औँला ठड्याउँदै
भनाइँदै रहेछ यहाँ
खबरदार !
यो हामीले आज्र्याको
चन्द्रागिरि हिल स्टेसन हो ।
अग्ला होचा
गुराँस र काफलका बुट्यानहरु
खस्रु, बाँझ, कटुस, चाँपका वृक्षहरु
निगाला र ऐँसेलुका झाडीहरु
आक्रोशित बन्दै रहेछन्
पन्पनाएको स्वार्थमा,
र, स्वार्थ स्वयम्
डुव्रिmरहेको रहेछ
खबरदार !
यो हामीले आर्ज्याको
चन्द्रागिरि हिल स्टेसन हो ।
चन्द्रागिरिवारिका
थानकोट, बलम्बु,सतुङ्गल, दहचोक
चन्द्रागिरिपारिका
चितलाङ, टौखेल,फाखेल रस्तीबस्ती
निर्धक्क खेल्थे
केही वर्षअगिसम्म
ग्वङ्गचुलीमा
काठपात, घाँसदाउरा जोहो गर्दै
कालिज, भ्याकुर, खरायो, मृगसँग रमाउँदै
तर
चन्द्रागिरिको यो चुली
स्वतन्त्र रहेन, स्वाधीन रहेन
गाउँलेहरुको पहुँचबाट फुत्केर
अब त हुँकार भर्दै रहेछ
खबरदार !
यो हामीले आर्ज्याको
चन्द्रागिरि हिल स्टेसन हो ।
पर्यावरण लोलाएको छ
लज्जावती झारझैँ
कार्बनको उत्सर्ग बढ्दै छ
तुवाँलोको मुस्लोसँगै
कङ्क्रिटको जङ्गल उम्रदै छ
दिनरात साँझबिहान
मानवतामा धावा बोलिँदै छ,
र त, अशक्त र अधीर बन्दै
चन्द्रागिरि छट्पटाउँदै छ
तर हामी भने
काठमाडौँको बहुरङ्गी दृश्यमा
क्षणिक आँखाको रमझम र
आत्मतुष्टिका लागि
चन्द्रागिरिको थाप्लो
ग्वङ्गचुली भालेश्वरमा
केबुलकारको सयर गर्दै
उक्लिँदै छौँ, ओर्लिँदै छौँ
र सुन्दैछौँ हुङ्कार
खबरदार !
यो हामीले आर्ज्याको
चन्द्रागिरि हिल स्टेसन हो ।
बिचरा ! बुढो भालेश्वर
आफ्नो प्राचीन थातथलो त्याग्दै
नवनिर्मित मन्दिरमा
निर्मम कैद भएका छन्
न उनी चल्मलाउन सक्छन्
न त सुस्केरा नै हाल्न सक्छन् ।
तथास्तुको शङ्खघोष
अन्तैबाट उद्घोष हुँदा पनि
चुपचाप चुपचाप
आफ्नै बेवारिसे प्राचीन थातथलो,
र, मान्छेको कोलाहल
प्रकृतिको क्रन्दन
मात्र टुलुटुलु हेरिरहेछन् ।
र लाचार लाचार सुनिरहेछन्
खबरदार !
यो हामीले आर्ज्याको
चन्द्रागिरि हिल स्टेसन हो ।
केही परको
चन्द्रागिरि भन्ज्याङबाट
नेपाल खाल्टो चियाउँदै गर्दाका
इतिहास पुरूष
बडाराजा पृथ्वीनारायणलाई
बलात्
अपहरित गरी
इतिहास बङ्ग्याउँदै
यस चुलीमा
ठिङ्ग्याएका रहेछन् ।
ती बुढा बडाराजा
अर्काकै निहित स्वार्थपूर्तिका लागि
किंकर्तव्यविमूढ
चोर औँला ठड्याउँदै
साक्षी बक्दै रहेछन्
खबरदार !
यो हामीले आर्ज्याको
चन्द्रागिरि हिल स्टेसन हो ।
कति स्वार्थी छौँ हामी
कति संवेदनशील छौँ हामी
आफ्नो स्वार्थपूर्तिका लागि
विकास र उन्नतिका निहुँमा
प्रकृति, पर्यावरण भत्काउन उद्धत छौँ
इतिहास बङ्ग्याउन किञ्चित मान्दैनौँ
र बडाराजालार्ई
साक्षीका रुपमा उभ्याएर
भनाउँदै छौँ
खबरदार !
यो हामीले आर्ज्याको
चन्द्रागिरि हिल स्टेसन हो ।
सोध्न मन लाग्छ मलाई
आफैले आफैलाई
इतिहास बङ्ग्याउन सक्नु नै
हाम्रो पुरूषार्थ हो ?
प्राकृतिक सम्पदा र पर्यावरण जथाभाबी मास्नु नै
विकास र समुन्नतिको द्योतक हो ?
कृत्रिमता नै हाम्रो गन्तव्य हो ?
अनुत्तरित छु म !
र त,
भोग्न विवस छु, सुन्न विवस छु
खबरदार !
यो हामीले आर्ज्याको
चन्द्रागिरि हिल स्टेसन हो ।