विपेन आदिमा
यस्तो लाग्छ जोगाउनकै लागि यो जिन्दगी खर्च गरुँ
उत्पीडकको लागि काँडा बनूँ र मुटुभित्रै स्पर्श गरुँ
यो समाजले अझै मान्छेलाई झैँ व्यवहार गर्दैन मलाई
मान्छे बन्नकै लागि म अझै कति सङ्घर्ष गरुँ !
उत्पीडनको विरूद्ध सङ्घर्ष गर्ने बानी पारिदिन्छु
अँध्यारो चिर्दै सबको भागमा बिहानी पारिदिन्छु
जनतालाई लुट्न पल्किएका लुटेराहरु हो सुन
तिम्रो साम्राज्यमा आगो लगाउँछु खरानी पारिदिन्छु ।
न्यायको लागि पनि अलिकति समय खर्च गर्न आऊ
ज्यादतीको एक एक हिसाबकिताब गर्नैपर्छ, गर्न आऊ
यो व्यवस्थामा हेपिएको, चेपिएको, पिल्सिएको ए ! साथी
कि अन्याय सहन तयार होऊ नत्र सङ्घर्ष गर्न आऊ !
घरी घरी झुटा आश्वासन मात्रै दिएर पठाउँछ
अपराधीलाई त न देख्छ, न कहिल्यै समाउँछ
वास्तविक पीडितले न्याय माग्दा किन यहाँ ?
बन्दुक तेस्र्याउँछ, सरकार लाठी बर्साउँछ !
दुनियाँको ती अनेकानेक बातका के कुरा
जन्म उस्तै मृत्यु उस्तै औकातका के कुरा
प्रेमभन्दा ठुलो केही हुन्न हजुर जिन्दगीमा
मन मिले त भै’गो नि लौ जातका के कुरा !