रूबि सत्याल
रातो टीका
निधारभरि खात हुँदै चुलियो सगरमाथा
खादा ओढाउनेको तँछाडमछाड
मानौँ
विश्वकपको जित हो यो !
आँखा साउनभदौ जसरी ओइरिँदै गयो
थकाइ लाग्यो झुठो मुस्कान बर्साइरहन
भिडभाड तमासा
गीतसङ्गीत अनौठो माहोल !
छाती चिरिएर रसाइरह्यो
निर्धक्क पोख्न
मन जाग्यो छताछुल्ल अमृत
रोइरहेको नानीमाथि !
कुनामा सुक्कसुक्क आवाजले
तितरबितर हुन्छ मुटु
फुल्न नपाउँदै कोपिला
देउतालाई चढाउन चुड्नु
कत्तिको न्याय होला ?
सपनाका खात बादलझैँ उड्दै पर पुगे
गलाको माला मरेका फूलको सुगन्ध कि दुर्घन्ध ?
भोकतिर्खाले डेरा सरेको छ
मिठाईको गुलियो तितो लाग्न थाल्यो
बाध्यताको डोरीले घाँटी कसिएर औडाहा भो !
छेउको सिमलको रूखमा
डाली चुडिने गरी कौवा कराउँदा
कानका पर्दा च्यातियो जस्तो,
थचक्क भुईंमा बसेर पोखिदिऊँ
आलो उम्लेको रगत
रक्तधमनी सुक्ने गरी अब
पाइला फलामे सिक्रीले बाँधिए जस्तो
मुटु तिखो पत्तीले रेटिएर पट्ट फुटेसरि,
खै भगवान् ?
यो पल ठप्प रोकिए
सास फेर्न नपरे
आँखाका परेली नझिम्किए
मुटुले थकाइ मारोस् अब,
खुब बेजोडले आँधी आयो
भत्काइदियो छेउको पर्खाल
सिमली भुवा फुरूरू उडे
तितरबितर भयो भिड !
लत्रेको आँचल अल्झियो
नरम हातको कसिलो जोड
अँगालोले बाँधेर
छाती चिरेर खुब बग्यो प्रेमधारा
कलिलो बालकमाथि !
शान्त नहुँदै प्रेमको तुफान
खोसियो नानी काखबाट
मानौँ
जीवनबाट आत्मा खोसियो !
हरियो पासपोर्ट थमाइयो
सुट्केस उभियो ठिङ्ग अगाडि
हतारियो ट्याक्सी
छुटे नानी पानी र जवानी
उड्यो प्लेन बादलको भुमरीमा !