जितेन्द्र रसिक

हुरी चले त के भो ?
ऊ आफै पनि सुस्ताएर जान्छ केही पलमै !
दियो जलेर के भो ?
दुनियालाई उज्यालो दिँदादिँदै
अँध्यारोमै व्यतीत भई
स्वयम्
निभेर जान्छ पलभरमै ।

झरी परे त के भो ?
ऊ पनि त बगरमा मिसिएर सकिन्छ पलभरमै ।

चट्याङ ….
त्यो पनि त ठोक्किएरै सकिन्छ पलभरमै..
जीवन नामको नदी पनि त बगिरहन्छ निरन्तर…निरन्तर

खडेरीमा सुकेको खोल्सोजस्तै सुक्छ एकदिन
उमेरका हाँगाहरु पनि त मक्किएर झर्दै जान्छ हरेक दिन
ओहो,
यो समय नामको आँधी कति शक्तिशाली ?
जूनलाई हेरेँ, ऊ पनि त निरीह छ मान्छेजस्तै
बिलाएर जानु नै छ अँधेरीमै ।
आकाशलाई हेरेँ, त्यो झन् अनन्त रहेछ ।
ऐ !
बरू म आकाश बन्छु
जति भित्र पसे पनि नभेटिने
एउटा शून्य आकाश,
किनकि
जीवन केवल आकाश त रहेछ नि !
शून्य आकाश ।
बरू म आकाश बन्छु । शून्य आकाश ।।

Facebook Comments Box

Similar Posts