प्रो.के. सत्चिदानन्दन
(अनुवाद: इन्द्र गिरी)
म हुँ माझी मृत नदीको
नदी–सतहको शुष्क बालुवामा कान थापेर
तल पानीको चञ्चल सङ्गीत सुन्ने चेष्टामा छु ।
आउने गर्छन् धेरै अहिले पनि यहाँ,
नुहाउन फागुनको महिनामा,
भरिएको त्यो नदीको सम्झनामा ।
चढाउने गर्छन् अझै पनि सिक्का,
पाताल निवासिनी देवीको नाउँमा ।
एउटा मखमली आकाश र सूर्य उदाएको छ
त्यहाँ, मृत नदीको सम्झनामा
छन् हरिया लहलह भएका धानका खेत,
आँपका रूख र केराका बोट,
फलका भारले धरतीतिर नतमस्तक ।
पङ्क्तिबद्ध उभिएका छन् उखुका लहरहरु,
माछा, सिपीका खोल, शङ्ख अनि
उत्सवको उल्लास र बाढको विनाश छ त्यहाँ ।
मृत नदीको स्मृतिमा लुकेका छन् गुप्त सन्देशहरु
कतै छ मिलनको हर्ष, विछोडको अवसाद,
त कतै छन् मृत देहहरु ।
मेरा अन्तहीन तरङ्गित भइरहेका गीतसँगै समाहित छु,
म पनि यस मृत नदीको स्मृतिमा ।
मेरो शैशव र ती सँगी–साथीहरु
जो लागे सहरतिर,
सम्झना तिनका आलै छन् अझ बालुवामा ।
उत्सवमा बजेको ढोलकको त्यो
रोमाञ्चकारी प्रतिध्वनिले
अझै तरङ्गित छन् लहर नदीमा ।
बादलसरि प्रतिबिम्बित भइरहेछन्
अलङ्कारले भूषित ती ऐरावतहरु ।
मृत नदीको स्मृतिमा पनि दैलो खुलै छ
अन्य नदीहरुको समावेशका लागि
निल, कावेरी, गङ्गा, ब्रह्मपुत्र ती सबै
अट्टहास गर्दै हाँसिरहेछन् जटा फिँजाएर ।
यहीँ छन् अलपत्र अतीतको हलो–जुवा र
भविष्यका बिउहरु ।
मृत नदीमाथिको साँघुले हेरिरहेछ
एकटक मतिर –
एउटा,
पराजित भागीरथलाई ।