धीरकुमार श्रेष्ठ

हामी निसास्सियौँ
हामीलाई बचाउनुहोस्
हामी हाम्रा फोक्साले
सास फेर्न सकिरहेका छैनौँ
सास फेर्न नसकिरहेका हाम्रा फोक्सा
छटपट छटपट गरिरहेछन्
सास फेर्न खोज्दा हामी निसास्सिइरहेछौँ ।

सास, घाँटीमै अड्केजस्तो भइरहेछ
न नाकबाट सास फेर्न सकिन्छ
न मुखबाट सास फेर्न सकिन्छ
सास फेर्न नसकेका हामी निसास्सिइरहेछौँ ।

दुर्गन्धित वायु
चारैतिर फैलिरहेछ
विषाक्त वायु
वरिपरि घुमिरहेछ ।

डढेलोले वायु उमाल्दै छ
बढ्दो गर्मीले वायु तताउँदै छ
तातो वायुमा अक्सिजन कम हुँदै छ ।

डढ्दै गरेका रूखपातले
अक्सिजन दिउन् भने पनि कहाँबाट दिउन् ?
उनीहरु स्वयंको  अस्तित्व मेटिँदै छ
यसो भए
हामीलाई अक्सिजन कहाँबाट दिउन् ?
उनीहरु स्वयम्को प्राणवायु
अग्निस्थ हुँदै छ
यसो भए
हामीलाई हाम्रा प्राणवायु कहाँबाट दिउन् ?

प्रत्येक रातको सपनामा
मलाई यो प्रश्न
मेरा जन्मिन बाँकी सन्ततिले सोधिरहेछन्
म निरूत्तर निरूत्तर सदा काल
यस्तै यस्तै सपना
देख्दै बिउँझिँदै
देख्दै बिउँझिँदै गरिरहेछु ।

Facebook Comments Box

Similar Posts